वागमती प्रदेश सरकारले प्रदेशका प्राथमिकतामा परेका खेलहरुमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ ।
शुक्रवार काठमाडौंमा नवौं राष्ट्रिय खेलकुद–२०७९, वागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद् वागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले यस्तो बताएका हु्न् । उनले यस वर्षबाट वागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको बताए ।
उनले सो कुराको सुनिश्चितता प्रदेश खेलकुद नियमावली २०७६ को दफा १३ मा उल्लेख गरेर नै खेलाडीलाई मासिक भत्ता दिने व्यवस्था गरिएको जानकारी दिए ।
सदस्यसचिव भण्डारीले नवौं राष्ट्रिय खेलकुदमा सहभागी बन्ने प्रदेशका खेलाडीहरुलाई ४५ दिने बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको पनि बताए । उनले वागमती प्रदेशले भदौ २० गतेभित्र प्रदेश छनोट सक्ने गरेर छनोट तालिका र तयारी गरेको, साथै राष्ट्रिय खेलकुद परिषद्को निर्णय अनुसार भदौ २५ गतेसम्म खेलाडी विवरण पठाइसक्ने तयारी गरेको पनि बताए । उनले वागमती प्रदेश अन्तर्गतका खेलाडीहरुको प्रदेश छनोट तथा नवौं राष्ट्रिय खेलकुद २०७९ मा सहभागिताका लागि अनुमानित लागत ९ करोड ४४ लाख ८ सय रुपैयाँ खर्च हुने अनुमान गरेको र सोको लागि वागमती प्रदेश सरकारले प्रदेश छनोटका लागि ५ करोड रुपैयाँ विनियोजन गरिसकेको जानकारी दिए । उनले राष्ट्रिय खेलकुद परिषद्बाट ४९ लाख निकासा रकम गइसकेको पनि बताए । उनले बाँकी रकम प्रदेश सरकारसँग आर्थिक मामिला तथा योजना मन्त्रालयसँग माग गरिएको बताए ।
सदस्यसचिव भण्डारीले नवौं राष्ट्रिय खेलकुद २०७९ मा वागमती प्रदेशको तर्फबाट फुल कोटामा ७०९ जना खेलाडीहरु सहभागी हुने बताए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुँदैछ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएन गरी ११ टिमले प्रतिष्पर्धा गर्नेछन् ।





























प्रतिक्रिया