नेपालले घरेलु टोली केन्यामाथि दोस्रो जित निकालेको छ । आइतबार भएको तेस्रो टी-२० क्रिकेटमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १५७ रनको विजयी लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । त्यस्तै, आजै मात्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका अर्जुन साउदले ओपनिङ सम्हाल्दै ३५ रन बनाए भने रोहितकुमार पौडेल २९ रनमा आउट भए ।
बलिङतर्फ केन्याका विराज पटेल र इयुगेने ओचेङले समान २/२ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । केन्याका लागि राकेप पटेल र इरफान करीमले अर्धशतक पारी खेले । पटेल ४३ बलमा ७३ रन र करीम ४७ बलमा ५५ रन बनाउँदै अविजित रहे ।
नेपालका बलर चम्किँन नसक्दा केन्याका खेलाडी हात खोल्न सफल भए । नेपालका आदिल अन्सारी र सोमपाल कामीले समान एकएक विकेट लिए ।
यो जितसँगै ५ खेलको श्रंखलामा नेपालले २-१को अग्रता लिएको छ । अब नेपाल र केन्याबीचको चौथो खेल सोमबार हुनेछ । यसअघि नेपाल र केन्याले एक/एक वटा खेल जितिसकेका छन् । पहिलो खेलमा नेपालले जित हात पारेको थियो भने दोस्रो खेलमा केन्या विजयी भयो ।





























प्रतिक्रिया