लज्जास्पद ब्याटिङसँगै नेपाल घरेलु टोली केन्यासँग पराजित भएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा सोमबार भएको चौंथो खेलमा नेपाल ७ रनले पराजित भएको हो । केन्याले दिएको १०१ रनको सामान्य लक्ष्य भेट्याउन नसक्दा नेपाल एक खेल अगावै सिरिजमा कब्जा जमाउने मौकाबाट वञ्चित बन्यो । नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रनमा समेटियो ।
नेपालका लागि रोहितकुमार पौडेलले ४७ रन बनाउनुबाहेक कुनै पनि खेलाडी दोहोरो रन बनाएर क्रिजमा टिक्न सकेनन् । सुरुवातको पहिलो बलमै पवन सवार्फ गोल्डेन डकआउट भएसँगै नेपालका लागि खेल सम्झन लायक बनेन । आदिल अन्सारीले ८ रन जोड्दा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र दिपेन्द्रसिंह ऐरी समान ६ रनमा पेभेलियन फर्किए ।
नेपाललाई सस्तैमा समेट्न केन्याका राकेप पटेले ३ विकेट लिए भने इलिजाह, शेम र विराज पटेलले समान २/२ विकेट लिए ।
त्यसअघि टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको केन्या निर्धारित २० ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । केन्याका लागि लुकास ओलुचले सर्वाधिक ३३ रन जोडे । त्यस्तै, ओपनर कोलिन्सले २० रन तथा शेम एनगोचेले १३ रन बनाए ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए भने मोहम्मद आदिल आलमले २ विकेट तथा शाहव आलम र दिपेन्द्रसिंह ऐरीको नाममा समान एकएक रह्यो ।
योसँगै ५ खेलको टी-ट्वान्टी सिरिजमा २/२ को बराबरी भएको छ । अब अन्तिम तथा निर्णायक खेल भोली हुनेछ ।





























प्रतिक्रिया