पूर्वकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले केन्यालाई टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा जितका लागि चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
नैरोबीस्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै रन १७५ बनाएको हो । सोमबार लज्जास्पद ब्याटिङ गरेका नेपालका खेलाडीले आज सिरिजको निर्णायक खेलमा भने राम्रो सुरुवात गरेका थिए ।
आज ओपनिङ सम्हालेका पूर्वकप्तान मल्ल र अर्जुन साउदले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । लामोसमय पछि टोलीमा पूनरागमन गरेका ज्ञानेन्द्रले अर्धशतक प्रहार गरेका छन् । उनले ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रन जोडे । उनले यसअघि सन् २०१९ को डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत भुटानविरुद्ध १०७ रनको शतकीय पारी खेलेका थिए । त्यसयता १७ इनिङ्समा उनले अर्धशतक बनाउन सकेका थिएनन् ।
त्यस्तै, रोहितकुमार पौडेलले ४७ रन बनाए भने अर्जुन २९ रनमा पेभेलियन फर्किएका थिए । दिपेन्द्रसिंह ऐरीले २२ रन बनाउँदा पवन सरार्फ, आदिल अन्सारी र विवेक यादव सस्तैमा समेटिए ।
बलिङतर्फ केन्याका शेम एनगोचे र विराज पटेलले समान २/२ विकेट लिए ।
पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। ४ खेल सकिँदा सिरिज २(२ को बराबरीको अवस्थामा रहेको छ । आजको खेल जित्नेले टी-ट्वान्टीको अन्तर्राष्ट्रिय सिरिज जित्नेछ ।































प्रतिक्रिया