नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ । मंगलबार भएको अन्तिम तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पाखा लगाउँदै नेपालले सिरिजमा ३-२ को जित निकालेको हो ।
नैरोबीस्थित क्रिकेट मैदानमा नेपालले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको केन्या निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रनमा समेटिएको हो । केन्याका नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन जोडे । त्यस्तै, शेम एनगोचेले ३३ रन, इर्फान करिमले २८ रन तथा कोलिन्स ओबुयाले २३ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमदले समान २/२ विकेट लिए भने करण केसी, आदिल अन्सारी र दिपेन्द्रसिंह ऐरीले समान एकएक विकेट लिए ।
त्यसअघिटस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै रन १७५ बनाएको थियो । सोमबार लज्जास्पद ब्याटिङ गरेका नेपालका खेलाडीले आज सिरिजको निर्णायक खेलमा भने राम्रो सुरुवात गरेका थिए । आज ओपनिङ सम्हालेका पूर्वकप्तान मल्ल र अर्जुन साउदले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए ।
लामोसमय पछि टोलीमा पूनरागमन गरेका ज्ञानेन्द्रले अर्धशतक प्रहार गरेका छन् । उनले ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रन जोडे । उनले यसअघि सन् २०१९ को डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत भुटानविरुद्ध १०७ रनको शतकीय पारी खेलेका थिए । त्यसयता १७ इनिङ्समा उनले अर्धशतक बनाउन सकेका थिएनन् ।
त्यस्तै, रोहितकुमार पौडेलले ४७ रन, अर्जुनले २९ रन तथा दिपेन्द्रसिंह ऐरीले २२ रन जोडे । बलिङतर्फ केन्याका शेम एनगोचे र विराज पटेलले समान २/२ विकेट लिए ।
यसअघि सिरिजको पहिलो र तेस्रो टी-ट्वान्टी खेलमा नेपाल विजयी भएको थियो भने दोस्रो र चौथो खेलमा ब्याटिङ कमजोर हुँदा गुमाएको थियो । अब नेपालले केन्यासँग ३ खेलको एकदिवसीय सिरिज पनि खेल्नेछ । सो सिरिज भदौ १७ देखि २० गतेसम्म हुनेछ ।































प्रतिक्रिया