नेपालले घरेलु टोली केन्याविरुद्धको तीन एकदिवसीय अभ्यास सिरिजमा जित हात पारेको छ । शनिबार भएको दोस्रो एकदिवसीयमा १७ रनको जित हात पार्दै नेपालले एक खेल अगावै सिरिजमा कब्जा जमाएको हो ।
नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा नेपालले दिएको २३१ रनको विजयी लक्ष्य पछ्याएको केन्या ४६.२ ओभरमा अलआउट हुँदै २१४ रनमा समेटिएको हो । केन्याका लागि केन्याका लागि रकिप पटेलले सर्वाधिक ८१ रनको अर्धशतकीय इनिङ खेले । साथै कोलिन्स ओबुयाले ३७ रन तथा नेल्सन ओधियाम्बोले २८ रन जोडे ।
केन्यालाई रोक्न नेपालका दीपेन्द्र सिंह ऐरीले ४ विकेट तथा सोमपाल कामीले ३ विकेट लिए । त्यस्तै, करण केसी, आदील अन्सारी र पवन सर्राफको नाममा समान एकएक विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको थियो । नेपालका लागि आज कप्तान रोहित पौडेलले सर्वाधिक ७८ रनको अर्धशतकिय इंनिङ खेले । त्यस्तै, देव खनालले ३७ रन, सोमपाल कामीले २६ रन, ज्ञानेन्द्र मल्लले २५ रन तथा बसिर अहमदले १७ रन जोडे ।
बलिङतर्फ केन्याका कप्तान शेम न्गोचे र विरज पटेलले समान २/२ विकेट लिए ।
पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । जितसँगै सिरिजमा २-० को अग्रता लिएको छ । तेस्रो एकदिवसीय खेल सोमबार हुनेछ ।





























प्रतिक्रिया