इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा न्युजिल्यान्डमाथि सहज जित हात पारेको छ । सुपर १२ को समूह ए अन्तर्गत मंगलबार भएको खेलमा न्युजिल्यान्डमाथि २० रनको जित निकाल्दै इंग्ल्यान्डले सेमिफाइनलको यात्रालाई बलियो बनाएको हो ।
इंग्ल्यान्डले जितका लागि दिएको १८० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रनमै रोकियो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै, कप्तान केन विलिम्सनले ४० रन, फिन एलेन र मिचेल स्टानरले समान १६/१६ रन जोडे ।
बलिङतर्फ इंग्ल्यान्डका क्रिस वेक्स र साम कुरानले समान २/२ विकेट लिए भने मार्क वुड र बेन टोक्सले एकएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोस बट्लरले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले । साथै एलेक्स हलेसले ५२ रनको अर्धशतक पारी खेले ।
बलिङतर्फ न्युजिल्यान्डका लोकी फर्गुसनले २ विकेट लिए भने टिम साउथी, मिचेल सान्टनार र ईश सोधीको नाममा एकएक विकेट रह्यो ।
इंग्ल्यान्डको यो जितसँगै सेमिफाइनल समीकरण रोमाञ्चक बन्ने पक्का भएको छ । यस समूहको अंक तालिकामा ४ खेलमा समान ५ अंकका साथ न्युजिल्यान्ड, इंग्ल्यान्ड र अष्ट्रेलिया क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् । अब इंग्ल्यान्डले अन्तिम खेल श्रीलंकासँग खेल्नेछ भने न्युजिल्यान्डले आयरल्यान्डसँग र अष्ट्रेलियाले अफगानिस्तासँग खेल्नेछ । यसमा यी तीनै टाेलीले जितेको खण्डमा नेट रनरेटका आधारमा न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा जाने सम्भावना अधिक छ भने साविक विजेता रहेको अष्ट्रेलिया बाहिरिनेछ । तर, निरन्तर वर्षाले प्रतियोगिताका खेल विथोलिरहेको कारण अन्तिम नतिजासम्म पर्खनुपर्ने भएको छ ।































प्रतिक्रिया