स्पेनिस ला लिगाको उपाधि दावेदार रियल म्याड्रिडले जारी सिजनमा दाेस्राे हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा भिल्लारियलसँग पाहुना टोली रियल २-१ले पराजित भएको हो ।
खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएका दुवै टोलीले दोस्रो हाफमा भने गोल गर्न सफल भएका थिए । दोस्रो हाफको दोस्रो मिनेटमा नै भिल्लारियलले अग्रता लियो । ऐरेमी पिनोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ६०औँ मिनेटमा कप्तान करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए ।
तर, त्यसको तीन मिनेटमा नै भिल्लारियलका जेरार्ड मोरेनोले पेनाल्टीमा गोल गर्दै २-१ को जित दिलाए । रियलका डिफेण्डर डेभिड अलावाले पेनाल्डी एरियामा हातले बल रोकेपछि पाएको पेनाल्टीमा जेरार्ड चुकेनन् । त्यसपछि खेलमा दुवै टोलीले थुप्रै अवसरहरु पाए तर सदुपयोग गरेर गोलमा परिणत गर्न भने सकेनन् ।
यो हारसँगै रियल अंक तालिकाको शिर्ष स्थानमा उक्लिनबाट वञ्चित बनेको छ । रियल १६ खेलमा ३८ अंकका साथ दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बार्सीलोना समान अंकसहित शिर्ष स्थानमा छ । यता जित हात पारेको भिल्लारियल पनि २७ अंकसहित पाचौं स्थानमा छ ।































प्रतिक्रिया