एनभिए क्लव भलिबलः महिलातर्फ पुलिस र पुरुषतर्फ टिपटप हेल्प नेपाल विजयी

एनभिए क्लव भलिबलः महिलातर्फ पुलिस र पुरुषतर्फ टिपटप हेल्प नेपाल विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा जारी सातौं एनभिए क्लव पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साविक विजेता न्यु डायमण्ड स्पोर्ट्स क्लवले विजयी शुरुवात गर्दा विभागीय टोली नेपाल पुलिस क्लवले लगातार दोस्रो खेलमा पनि सफलता हात पारेको छ ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमण्डले नयाँ बजार समाजिय युथ क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै आईतवारबाट शुरु भएको प्रतियोगितामा विजयी शुरुवात गरेको हो । 

न्यु डायमण्डले जितबाट प्रतियोगिताको शुरुवात गर्दा नयाँ बजारले भने लगातार दोस्रो हार भोगेको छ । न्यु डायमण्डले नयाँ बजारलाई २५–२, २५–८ र २५–६ को सेटमा हराएको हो । यस जितसँगै डायमण्डले समूह ‘ए’ मा ३ अंक जोडेको छ ।

सोमवारै सम्पन्न दिनको दोस्रो खेलमा पुलिसले एभरेस्ट भलिबल क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै पुलिसले दुई खेलबाट तालिमा स्पष्ट ६ अंक जोड्न सफल भएको छ । एकतर्फी जित निकालेको पुलिसले एभरेष्टमाथि पहिलो सेटमा २५–१४, दोस्रो सेटमा २५–९ र तेस्रो सेटमा २५–६ को सहज जित निकालेको हो । यस समूहमा नयाँ बजार र एभरेष्ट रहेका छन् भने उनीहरुले अंक जोड्नसकेका छैनन् ।

प्रतियोगिता अन्तर्गत सोमवार नै पुरुष तर्फको खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लवले बुढानिलकण्ठ क्लवलाई हराउँदै जारी प्रतियोगितामा विजयी शुरुवात गरेको छ । 

तीन पाकिस्तानी खेलाडीसहित कोर्टमा उत्रिएको हेल्प नेपालले बुढानिलकण्ठमाथि पहिलो सेटमा २५–१६, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१६ को सहज जित निकालेको हो । यससँगै हेल्प नेपालले पनि जारी प्रतियोगितामा सुखद् शुरुवात गर्दै तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको छ । 

यस्तै दिनको दोस्रो खेलमा केशवलाल मेमोरियल भलिबल क्लवले मधेस प्रदेशलाई ३–१ सेटमा हरायो । केशवलालले २५–२१, २५–२३, २७–२९ र २५–१७ को सेटमा जित निकालेको हो ।

प्रतियोगिता अन्तर्गत सोमवार नै भएको पुरुष विधाको तेस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले लागातार दोस्रो खेलमा पनि स्पष्ट जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा बलियो टोली दावाली क्लवलाई हराउँदै विजयी शुरुवात गरेको आर्मीले सोमवार मणिमुकुन्दलाई २५–११, २५–२० र २५–१४ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । पुरुषतर्फको सोमवारकै अन्ति खेलमा एपिएफले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–९, २५–१४ र २५–१५ को सोझो सेटमा हरायो ।

प्रतियोगिता अन्तर्गत मंगलवार महिलातर्फ एपिएफ र गण्डकीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल न्यु डायमण्ड र एभरेष्टबीच प्रतिष्पर्धा हुनेछ । यस्तै पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस र ढोरपाटन, न्युटन र गण्डकी, मणिमुकुन्द र दावाली तथा बुढानिलकण्ठ र मधेश प्रदेशबीच खेल हुनेछ ।

Skip This
Skip This
Logo