केपी ओली कपः पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

केपी ओली कपः पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लवको चुनौति पन्छ्याउँदै सातदोबाटो युथ क्लव केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीवार सम्पन्न उद्घाटन खेलमा सातदोबाटो युथ क्लवले पुलिस क्लवलाई २-१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । 

सातदोबाटोलाई जित दिलाउन दुवै गोल दीपकराज सिंह ठकुरीले गरे भने पुलिसका प्रविण थापाले एक गोल फर्काएका थिए ।

शहीद स्मारक ए डिभिजन लिगको तयारीको रुपमा हेरिएको प्रतियोगिताको पहिलो खेलमा सातदोबाटोले सुखद् शुरुवात गरेको हो । सो क्रममा दीपकले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलबाट सातदोबाटोले अग्रता बनाएको थियो । प्रतिष्पर्धात्मक बनेको खेलमा दीपकको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफको चौथो मिनेटमा नै पुलिसले पुनरागमन गर्‍यो । ४९ औँ मिनेटमा प्रविनले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । बराबरी भएपनि दबाब दिएर खेलेको सातदोबाटोले ७१ औँ मिनेटमा दीपककै गोलबाट अग्रता दोब्बर बनायो । बाँकी समयमा थप गोल हुन सकेन र सातदोबाटोले अन्तिम चारमा स्थान पक्का गर्‍यो ।

प्रतियोगितामा शहीद स्मारक ‘ए’ डिभिजनको विजेता मछिन्द्र, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ र जावलाखेल युथ क्लव र आयोजक टोली केपी ओली एफसीले प्रतिष्पर्धा गर्दैछन् । 

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विधागत रूपमा उत्कृष्ट गोलकिपर र फरवार्डले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । साथै प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछ । 
उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछ ।

Skip This
Skip This
Logo