विभागीय टोली त्रिभुवन आर्मी क्लव र मच्छिन्द्र फुटबल क्लव राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा आर्मीले न्युरोड टिम (एनआरटी)लाई पेनाल्टी सुट आउटमा पराजित गर्दा शुक्रवारकै दोस्रो खेलमा चर्च ब्वाइजलाई हराउँदै मच्छिन्द्र अन्तिम चारमा प्रवेश गरेका हुन् ।
पहिलो खेल एनआरटी र आर्मीले निर्धारित ९० मिनेट १–१ गोल गरेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको हो । पेनाल्टी सुटआउटमा ५–४ को रोमाञ्चक जित निकाल्दै आर्मी अन्तिम चारमा पुग्न सफल भएको हो ।
पेनाल्टी प्रहारमा आर्मीका जगजित श्रेष्ठ, टेकबहादुर बुढाथोकी, विकास खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले पेनाल्टी मौकालाई सदुपयोग गर्दा एनआरटीका स्टेफेन जुनियर एनगुमबोउसको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले बचाउँदै आफ्नो टोलीलाई अन्तिम चारमा पुर्याएका हुन् । एनआरटीका जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र विक्रम धिमालले गोल गरेका थिए ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबीच निकै प्रतिष्पर्धात्मक खेल भएको थियो । ३२ औं मिनेटमा लालनुन्जामा कोल्नेले गोल गर्दै एनआरटीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा एनआरटीका कप्तान विक्रम धिमालले आत्मघाती गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो । बाँकी समयमा दुवै टोलीबाट स्पष्ट जितका लागि प्रयास गरेपनि सफल हुन सकेनन् ।
पेनाल्टी सुटआउटबाट अघिल्लो चरण प्रवेश गरेको आर्मीले सातदोबाटो युथ क्लवसँग फाइनल प्रवेशका लागि भिड्नेछ ।
प्रतियोगिता अन्तर्गत शुक्रवार नै भएको दिनको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लवले चर्च ब्वाइज युनाईटेडलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो ।
मछिन्द्रलाई जित दिलाउन प्लेयर अफ दि म्याच चुनिएका कप्तान सुजल श्रेष्ठ र रञ्जित धिमालले एकएक गोल गरे भने उपहार गोलबाट चर्चब्वाईजले अग्रता छोट्याएको थियो ।
शुरुवातबाट नै आक्रामक देखिएको मच्छिन्द्रले १६ औं मिनेटमा सुजलको फ्रिकिकमा अग्रता लिएको थियो । ४० औं मिनेटमा रञ्जितले गोल गर्दै मछिन्द्रको अग्रता २–० को बनाएका थिए । दोस्रो हाफमा काउन्टर रणनीतिका साथ खेलेको चर्चब्वाईजले ६५ औं मिनेटमा उपहार गोलबाट अन्तर घटाउने अवसर पायो ।
मछिन्द्रका छिरिङ गुरुङ किलियर गर्न खोजेको बल आफ्नै पोस्टमा गोल भएको थियो । बाँकी समयमा चर्च ब्वाइज खेलमा फर्किने निकै संघर्ष गरेपनि सफल हुन सकेन ।
प्रतियोगितामा शनिवार आयोजक केपी ओली फुटबल क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।































प्रतिक्रिया