मछिन्द्र फुटबल क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार साँझ दशरथ रंगशालामा भएको फाइनलमा सातदोबाटो युथ क्लवलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मछिन्द्रले पहिलो संस्करणको उपाधिमा कब्जा जमाएको हो ।
निर्धारित खेलमा दुवै टोली ११ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा मछिन्द्र ५-३ गोल अन्तरले विजयी बन्यो ।
पेनाल्टीमा मछिन्द्रका रंजित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे । सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एकराज बुढाथोकीले गोल गरे तर, अब्दुल अबुबकारीको प्रहार भने मछिन्द्रका गोलकिपरले रोकेका थिए ।
त्यसअघि खेलको पाँचौं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि १८औं मिनेटमा जोर्डन ओवानाले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काएका थिए ।
उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ भने उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ ।































प्रतिक्रिया