विश्वकपमा छनोट भएको नेपाली यु -१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
युएईमा भएको विश्वकप छनोट खेलेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने सुनिश्चित गरी टोली स्वदेश फर्किएको हो । नेपाली टोली आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।
आइसिसी यु–१९ विश्वकप एशिया छनोटको बिहीवार सम्पन्न खेलमा युएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो । यस जितसँगै नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने पक्का भएको थियो ।
नेपाल आएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक जगत टमाटाले नेपालको फिल्डङ र बलिङका कारण विश्वकपमा छनोट भएको बताए । उनले सबै खेलाडीहरुले मिहेनत गरेर खेल्दा जित हात पारेको र फाइनल खेलमा युएईसँगका अन्तिम तीन विकेट जादुमय भएको बताए । विश्वकप २०२४ मा हुने भएकाले अब विश्वकपका लागि धेरै समय बाँकी रहेकाले राम्रो नतिजा निकाल्ने गरी खेल्ने उनले बताए ।
त्यस्तै, यु १९ टोलीका कप्तान देव खनालले सबै खेलाडीको मिहेनतले विश्वकपमा छनोट भएको बताए । उनले टुर्नामेण्टमा जाँदा धेरै चुनौति भएपनि अब आउने दिनमा आफूलाई झनै प्रमाणित गरेर जाने चुनौति रहेको बताए । विश्वकपमा छनोट हुनु आफ्ना लागि एउटा सपना जस्तै भएको उनले बताए ।
साथै बलर दीपेश कँडेलले ह्याट्रिक विकेट भन्दा पनि आफ्नो टिमले जितेकोमा खुशी लागेको बताए । उनले आफू अन्तिम ओभर बलिङ गर्न आउँदा आफ्नो जीवको फस्र्ट एण्ड लास्ट ओभर सोचेर बलिङ गरेको बताए ।
नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ को यु–१९ विश्वकप खेलेको थियो ।































प्रतिक्रिया