दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ मा लगातार तेस्रो हार व्यहोरेको छ । शनिबार भएको पहिलो खेलमा दिल्ली राजस्थान रोयल्ससँग ५८ रनले पराजित भएको हो ।
गुवाहाटीमा राजस्थानले जितका लागि दिएको २०० रनको विशाल लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रनमा समेटिएको हो । पहिलो ओभरमै २ विकेट गुमाएको दिल्लीका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ६५ रनको अर्धशतकीय इनिङ्सको योगदान दिए । उनले आइपीएलमा ६ हजार रन पनि पूरा गरेका छन् ।

साथै ललित यादवले ३८ रन बनाउनुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । ओपनर पृथ्वी शाह र मनिष पाण्डे लगातार शून्य रनमा आउट भए ।
बलिङतर्फ राजस्थानका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट र युभेन्द्र चाहालले समान ३/३ विकेट लिए । रविचन्द्रन आश्विनले २ विकट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । राजस्थानका लागि ओपनर यशस्वी जैसवाल र जस बटलरको सानदार ब्याटिङ रह्यो । बटलरले ५१ बलमा सर्वाधिक ७९ रनको योगदान दिए भने जैसवाल ३१ बलमा ६० रनमा आउट भए ।
त्यस्तै, कप्तान सञ्जु स्यामसन डक आउट हुँदा शिम्रन हेटमायर ३९ रन र ध्रुव जुरेल ८ रनमा अविजित रहे ।
बलिङतर्फ दिल्लीका मुकेश कुमारले २ विकेट लिए भने कुलदीप यादव र रोभम्यान पावेलले एकएक विकेट लिए ।
योसँगै राजस्थानले ३ खेलमा दोस्रो जित हात पारेको छ । राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ७२ रनले हराएको थियो भने पन्जाब किंग्ससँग ५ रनले पराजित भएको थियो । तर, दिल्लीले लगातार तेस्रो हार व्यहोरेको छ । पहिलो खेलमा दिल्ली लखनऊ सुपर जायन्ट्ससँग ५० रन र दोस्रो खेलमा गुजरात टाइटन्ससँग ६ विकेटले पराजित भएको थियो ।





























प्रतिक्रिया