आइपिएलमा पन्जाबलाई हराउँदै हैदराबादको पहिलो जित

आइपिएलमा पन्जाबलाई हराउँदै हैदराबादको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा पन्जाब किंग्सलाई ८ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । पन्जाबले पहिलो हार व्यहोर्दा हैदराबादले पहिलो जित दर्ता गरेको हो ।

जितको लागि १ सय ४४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको हैदराबादले १७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादको जितमा राहुल त्रिपाठीले ४८ बलमा १० चौका र ३ छक्कासहित ७४ रनमा अविजित रहे ।

त्रिपाठीले हरप्रीत ब्रारलाई चौका हान्दै खेल सकाएका थिए । कप्तान एडेन माक्ररमले २१ बलमा ६ चौकासहित ३७ रन बनाए । तेस्रो विकेटका लागि राहुल र एडेन माक्ररमले १ सय रनको अविजित शतकीय साझेदारी गरेका थिए । ओपनर ह्यारी ब्रुक १३ र मयंक अग्रवाल २१ रनमा आउट भए । पन्जाबका अर्शदीप सिंह र राहुल चाहरले एक एक विकेट लिए ।

त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो। पन्जाबका कप्तान शिखर धवनले ६६ बलमा १२ चौका र ५ छक्कासहित सर्वाधिक ९९ रनमा अविजित रहँदै कप्तानी इनिङ खेले। धवनको एकल प्रदर्शन जितको लागि पर्याप्त भने हुन सकेन ।

धवन बाहेक अन्य कुनैपनि ब्याटरले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् । पन्जाब १५ ओभरमा ८८–९ को अवस्थामा थियो । उक्त समय धवन ४७ रनमा क्रिजमा थिए । धवनले अन्तिम विकेटका लागि मोहित राथेसँग ३० बलमा ५५ रनको साझेदारी गर्दै साख कटाएका थिए । उक्त साझेदारीमा मोहितले दुई बलमा एक रन मात्रै जोडेका थिए । टि नटराजानलाई अन्तिम बलमा छक्का हानेपछि धवन ९९ रनमा अविजित रहेका थिए ।

तर पन्जाबका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । धवनपछि साम करनले १५ बलमा ३ चौका र १ छक्कासहित २२ रन बनाए । एक समय ६३–३ को अवस्थामा रहेको पन्जाबले लगातार विकेट गुमाएको थियो । इनिङको पहिलो बलमै भुवनेश्वर कुमारले ओपनर प्रभसिमरन सिंहलाई एलबीडब्लू आउट गर्दै रोयल डक पेभेर्लिन फर्काएका थिए ।

मार्को यानसनले आइपिएलमा पहिलो खेल खेलेका म्याथ्यु शर्टलाई एक रनमा एलबीडब्लू आउट गरे। यानसनकै बलमा जितेश शर्मा ४ रनमा एडेन माक्ररमबाट क्याच आउट भएपछि पन्जाब ३.५ ओभरमा २२-३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि धवन र साम करनले ४२ रनको साझेदारी गर्दै खेलमा फर्किन सक्ने सम्भावना देखाएका थिए ।

साम करन स्पिमर मयंक मारकन्डेको बलमा क्याच आउट भएपछि लगातार विकेट गुमाएको थियो । त्यसपछि लगातार विकेट गुमायो । हैदराबादका मयंक मारकन्डेले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। उमरान मलिकले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मार्को यानसनले ३ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारको नाममा १ विकेट लिए ।

हैदराबाद पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रन र लखनऊ सुपर जायन्ट्ससँग ५ विकेटले पराजित भएको थियो । हैदराबादले अव शुक्रबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ ।  पन्जाबले बिहीबार गुजरात टाइटन्ससँग खेल्नेछ । 

Skip This
Skip This
Logo