काठमाडौं ।
अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिप अन्तर्गत ब्लयाकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ काँस्य पदक जितेको छ । नेपालका लागि कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जितेका हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी पाँच खेलाडीमध्ये कमल र पार्वतीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । ३० वर्षको विधामा कमल पहिलो बनेका हुन् । जसमा नेपालकै हस्तबहादुर तामाङले रजत तथा जितबहादुर बोट र प्रेम बहादुर लिम्सोले काँस्य पदक हात पारे । जित र प्रेम १३ औं सागका काँस्य विजेता हुन् ।
महिला ३० वर्षको इभेन्टमा पार्वती पहिलो भइन् । सो इभेन्टमा नेपालकी संजिला तिमल्सिनाले काँस्य पदक जितिन् । यसैगरी, ७ वर्ष मुनिको इभेन्टमा नेपालका निकुन गुरुङले स्वर्ण हात पारे । सो विधामा निकुन प्रतिद्वन्द्वीविहीन थिए । एब्सोलुट तेक्वान्दो डोजाङका निकुनले ४.७ स्कोर गरेको थियो । त्यस्तै महिला ९ वर्षमुनि विधामा सरगम च्याम्पियन बनिन् भने पुरुष ९ वर्षमुनि प्रज्ञान तामाङले रजत र करुण खाँद तथा आर्यन्सनजङ्ग राणाले काँस्य पदक हात पारे ।
एघार वर्षमुनिको इभेन्ट अन्तर्गत पुरुषमा नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले काँस्य पदक प्राप्त गरे । महिला १४ वर्ष मुनिको इभेन्टमा सन्ध्या लामालाई तेस्रो स्थान प्राप्त गरिन् । १७ वर्ष मुनि पुरुषमा दिपेश गुरुङ र महिलामा मोनिका रम्तेलले काँस्य पदक हात पारे । ४० वर्षको उमेरसमूहमा पुरुषतर्फ सुरज श्रेष्ठ र महिलामा रेशमाया गुरुङले काँस्य पदक हात पारे भने ५० वर्षको इभेन्टमा मधुसुदन सापकोटा र परशुनारायण बोहोरा काँस्यमा सीमित भए । ६० वर्ष उमेरसमूहमा फणिन्द्र खड्काले रजत हासिल गरे ।
‘ब्लयाकबेल्टको नतिजा हिजो सार्वजनिक भएको हो जसमा मैले स्वर्ण पदक हात पार्दा निक्कै खुशी छु । यस्तो अप्ठ्यारो परिस्थितिमा पनि देशको नाम राख्न पाएकोमा मसँग हर्षको सीमा छैन’ कमल श्रेष्ठले केन्द्रबिन्दुसँग भने । डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो संघ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) को सहयोगमा भइरहेको प्रतियोगितामा पठाइएको श्रब्यदृष्यलाई विश्व तेक्वान्दो महासंघबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्यांकन गरी नतिजा सार्वजनिक गरिएको हो । नेपालबाट अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
‘यो प्रतियोगिता अमेरिकाको मिचिगनमा यहि वर्षको मे १ र २ तारिखमा हुने वाला थियो तर कोरोना महामारीको कारण स्थगित भएको प्रतियोगिता अनलाइनमा भए पनि आयोजना गरिदिएकोमा सम्पूर्णलाई धन्यबाद दिन चाहन्छु’ श्रेष्ठले थपे । आईओएफटीसीको मूख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप कोरोनाले स्थगित भएपछि खेलाडीहरुको मनोबल कायम राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आइओएफटिसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन् । १३ औं संस्करण अमेरिकाको मिचिगनमा यसै वर्षको मे १ र २ तारिखमा हुने तालिका थियो ।































प्रतिक्रिया