कुवेतसँग खेल रद्द भएसँगै नेपाल फाइनलमा

कुवेतसँग खेल रद्द भएसँगै नेपाल फाइनलमा

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली नेपाल एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । जितको लागि २८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । भारी वर्षा हुँदा सुपर ओभर पनि हुन नसकेपछि समूह ए को विजेताका रुपमा नेपाल फाइनलमा पुगेको हो ।  

कुवेतका मोहम्मद अस्लाम १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । कुवेतका ओपनर आदनान इद्रिस शून्य, रविजा सनदरुवान ९, परविन्दर कुमार १, मित भावसार ५ रनमा आउट भए ।

बलिङमा नेपालका करण केसीले ४.३ ओभरमा १० रन खर्चेर एक्लैले ५ विकेट लिए । साथै सोमपाल कामीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २८१ रन बनाएको थियाे । वर्षाका कारण करिब दुई घण्टा अवरुद्ध भएको ५० ओभरको खेललाई ४२ ओभरमा घटाएर सुरु गरिएको थियो । 

नेपालका लागि कप्तान रोहित पौडेलले सानदार अर्धशतकीय इनिङ खेले । उनी ठूलो शट हान्ने क्रममा शतकका लागि ६ रनबाट मात्रै चुके । उनले ९५ बलमा ९४ रन जोडे । साथै युवा अलराण्डर कुशल मल्लले पनि ५७ रनको अर्धशतकीय इनिङको योगदान दिए । आरिफ शेख १९ रनमा आउट हुँदा सोमपाल कामी १३ रनमा अविजित रहे । 

त्यसअघि नेपालले २२ दशमलव तीन ओभरमा तीन विकेट गुमाएर एक सय ४१ रन बनाएपछि पानी परेको थियो ।  कुशल भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । उनी १०औं ओभरको पाँचौं बलमा यासिन पटेलबाट क्याच आउट भएका थिए । त्यसपछि ११औं ओभरको तेस्रो बलमा भीम सार्की र १२ औं ओभरको दोस्रो बलमा अर्का ओपनर आसिफ शेख ३१ रनमा क्याच आउट भएका थिए ।

बलिङतर्फ कुवेतका मोहम्मद अस्लाम र अडान इड्रेसले समान ३/३ विकेट लिए भने यासिन पटेल र सायद मोनिवले एकएक विकेट लिए ।

Logo