काठमाडौं ।
राष्ट्रिय फुटबल टिमको अभ्यास खेल स्वीकृति अब मन्त्रिपरिषद् बैठकबाट हुने भएको छ । आइतबार बसेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठककले राष्ट्रिय फुटबल टिमको तयारीको स्वीकृति मन्त्रिपरिषद् बाट हुनु पर्ने निष्कर्ष निकालेको हो ।
फुटबलसँगै अब खेलकुद सम्बन्धि सम्पूर्ण स्वीकृति मन्त्रिपरिषद्काे बैठकले गर्नेछ । खेल कार्यक्रम मन्त्रिपरिषद्ले रोकेको थियो । अब खोल्ने/नखोल्ने निर्णय समेत मन्त्रीपरिषद्ले नै गर्ने भएछ ।
गत महिना एन्फाको कार्यसमितिको बैठकले आगामी फिफा विश्वकप छनोटका लागि राष्ट्रिय टिमको तयारी जुलाई १५ बाट गर्ने निर्णय गरेको थियो । एन्फाले केन्द्रिय कार्यसमितिबाट निर्णय गराउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग स्वीकृति माग गरेको थियो । राखेपले मन्त्रालयलाई स्वीकृतिका लागि पठाएको थियो ।
मन्त्रालयले फुटबल खेलको स्वीकृति सीसीएमसीबाट हुने एन्फालाई बताएको थियो । तर अन्तिममा आएर यसको निर्णय मन्त्रिपरिषद् बाट मात्र हुने भएको छ । असार २६ गते पहिलो पटक एन्फाको स्वीकृति पत्र सीसीएमसी पुगेको थियो । आइतबार बसेको सीसीएमसीको बैठकमा फुटबल टिमको अभ्यासको बिषय एजेण्डाको रुपमा प्रवेश गरे पनि यसको निर्णयको अधिकार मन्त्रिपरिषद्लाई मात्र हुने निष्कर्ष निकालेको हो ।
खेलकुद मन्त्रालयको राय अनुसार एन्फा पदाधिकारी सीसीएमसीको निर्णय पर्खिएर बसेका थिए । अब भने मन्त्रिपरिषद्काे निर्णय पर्खनु पर्नेछ ।































प्रतिक्रिया