नेपालले घरेलु टोली मलेसियामाथि दोस्रो टि२० आई खेलमा ७ विकेटको सहज जित हात पारेको छ ।
मलेसियाले दिएको ९७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले सर्वाधिक २९ रन जोड्दै अविजित रहिन् । त्यस्तै, कविता कुँवरले २६ रन तथा सिता रानामगरले २३ रन जोडिन् ।
बलिङमा मलेसियाका लागि एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १–१ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले सर्वाधिक २८ रन बनाइन् । साथै ओपनरद्वय विनीफ्रेड आनी दुराईसिंगम र वान जुलिया मान मोहम्मद रोस्दीले समान २०/२० रन जोडे ।
बलिङमा नेपालका लागि कप्तान रुविना क्षेत्रीले २ विकेट लिइन् भने इन्दु बर्मा र कविता कुँवरले एकएक विकेट लिए ।
यो जितसँगै पाँच खेलको टि२० सिरिजमा १-१ को बराबरी भएको छ । नेपाल पहिलो खेलमा ५० रनमै अल आउट हुँदै मलेसियासँग ५ विकेटले पराजित भएको थियो । जुन नेपालको मलेसियासँग पहिलो हार थियो । अब जेठ १८ मा (जुन १) मा नेपालले तेस्रो खेल खेल्नेछ भने जेठ २० र २१ मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।































प्रतिक्रिया