स्पेनिस क्लब रियल म्याड्रिडले इङ्ल्यान्डका मिडफिल्डर जुड बेलिङहमलाई अनुबन्ध गर्न सम्झौता गरेको छ । रियल म्याड्रिडले बेलिङहमलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०३ मिलियन युरोमा अनुबन्ध गर्न सम्झौता गरेको छ । केही दिनमा नै मेडिकल हुने छ।
युरोपका केही शीर्ष पक्षहरूसँग जोडिएका मिडफिल्डरले रियलसँग ६ वर्षको सम्झौतामा हस्ताक्षर गर्नेछन्। डर्टमुन्डले एक विज्ञप्ति जारी गर्दै रियलले बेलिङहको लागि १०३ मिलियन युरो तिर्न सहमत भएको छ र त्यसमा विभिन्न सम्भावित एड–अनहरू रहेका बताएका छन्। यदि ति एडअनहरु समावेश भएमा उनको सम्झौता १३३ मिलियन युरो पुग्नेछ।
सन् २०२० को जुलाईमा बर्मिङहम सिटीबाट डर्टमुन्डमा आबद्ध भएका १९ वर्षीया बेलिङहमले गत वर्षको विश्वकपमा इङ्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। म्यानचेस्टर सिटी र लिभरपुल बेलिङहम अनुबन्ध गर्ने दौडमा थिए। अप्रिलमा लिभरपुलले खर्चको कारणले गर्दा बेलिङहमलाई अनुबन्ध गर्ने दौडबाट बाहिरियो।
बर्मिङहमले बेलिङहमलाई २५ मिलियन पाउन्डमा डर्टमुन्डमा बेचेको थियो। १७ वर्षीय उनी त्यसबेला फुटबलको इतिहासमा सबैभन्दा महँगा युवा खेलाडी बनेका थिए। उनले डर्टमुन्डमा उत्कृष्ट प्रदर्शन गरे र गत वर्ष अक्टोबरमा १९ वर्षको उमेरमा क्लबको सबैभन्दा कान्छो कप्तान बनेर इतिहास रचे। बेलिङहमले यस सिजन डर्टमुन्डका लागि ४२ खेल खेल्दा १४ गोल र ७ असिस्ट प्रदान गरेका छन्।































प्रतिक्रिया