नेपालगन्ज ।
नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी खेलाडी सन्जु चौधरीले सम्मानको नाममा आफू अपमानित भएको बताएकी छिन् । सन्जुले सामाजिक संजाल फेसबुकबाट आफूलाई सम्मानको नाममा नेपालगन्ज उपमहानगरपालिकाले अपमान गरेको बताएकी छिन् । उपमहानगरपालिकाले आफ्नो सातौं नगरसभाको अवसरमा सम्मान गर्ने भनेर बोलाए पनि सम्मान नगरी फिर्ता पठाएर अपमान गरेको सन्जुको भनाई छ ।
‘हामी खेलाडीको स्वभिमान हुँदैन र ? कुरा नमिली नबुझी सम्मान छ भन्दै बोलाउने । आफू नसके परिवारको सदस्यलाई पठाउनु भन्ने । अनि परिवारको सदस्य पुगेपछि कुरा मिलेन भनेर जानु भन्ने,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘यस्तै तरिका हो भने कुन परिवारले आफ्ना सन्तानलाई खेलाडी बन्न दिन्छ र ?’
सन्जुले सागमा महिला ५९ केजी तौल समूहको भारोत्तोलन खेलमा स्वर्ण जितेकी थिइन् । सन्जु नेपाललाई भारोत्तोलन खेलमा स्वर्ण जिताउने पहिलो नेपाली महिला खेलाडी समेत हुन् ।
‘पैसा होइन स्वाभिमान चाहिएको हो । खेलाडीले खेल्ने भनेको देशका लागि हो । त्यसपछि आफ्नो लागि हो,’ सन्जुले लेखेकी छिन् । सन्जु हाल काठमाडौंमा बस्दै आएकी छिन् । त्यसैले सन्जुले सम्मानका लागि बुवालाई कार्यक्रममा पठाएकी थिइन् । तर, आवश्यक कागजात नपुगेको भन्दै उपमहानगरले बुबालाई फिर्ता पठाएको सन्जुले बताईन् ।





























प्रतिक्रिया