युएई जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा लगातार तेस्रो हार व्यहोर्दै बाहिरिएको छ । शुक्रबार भएको खेलमा युएई स्कटल्यान्डसँग १११ रनले पराजित भएको हो ।
जिम्बावेको बुलाबायो एथलेटिक्स क्लबमा स्कटल्यान्डले दिएको २८३ रनको विजयी लक्ष्य पछ्याएको युएई ३५.३ ओभरमा अलआउट हुादै १७१ रनमै समेटिएको हो । युएईका लागि कप्तान मुहम्मद वासिमले सर्वाधिक ३६ रन तथा बसिल हमिदले ३० रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
युएईलाई सस्तैमा समेट्न बलिङमा स्कटल्यान्डका सफ्यान शरिफले सर्वाधिक ४ विकेट तथा क्रिश सोलले ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान रिचिं बेरिङ्गटनले १ सय ३६ बलमा ९ चौका र ३ छक्काको सहयोगमा १ सय २७ रनको शतकीय ईनिङ खेले । उनको यो ओडिआई करियरको चौथो शतक हो ।
त्यस्तै, माईकल लिक्सले ४१ रन बनाउँदा मार्क वाटले अविजित ४४ रन बनाए ।
युएईका लागि जुनेद सिद्धिकीले ३ तथा अलि नासिरले २ विकेट लिए ।
लगातार दोस्रो जितसँगै स्कटल्यान्डले सुपर सिक्सको सम्भावनालाई बलियो बनाएको छ । स्कटल्यान्डले पहिलो खेलमा आयरल्यान्डलाई रोमान्चक रुपले पराजित गरेको थियो । तर, लगातार तेस्रो हार व्यहोरेको युएई भने समूह चरणबाटै बाहिरिएको छ । युएई यसअघि ओमान श्रीलंकासँग पराजित भएको थियो ।































प्रतिक्रिया