नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरण अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ ।
ताकाशिंगा स्पोर्ट्स क्लबमा सम्पन्न टसमा नेदरल्यान्ड्सका कप्तान स्कर्ट एड्वार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ। नेपालले केहि समयमा ब्याटिङमा मैदान उत्रनेछ।
नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । वेस्ट इन्डिजसँगको टोलीलाई निरन्तरता दिएको छ । नेपालले पछिल्ला दुई खेलमा टोलीमा परिवर्तन नगरेको हो । तीव्र गतिका बलर सोमपाल कामी भने जिम्बावेसँगका कारण फिट छैनन् । उनको स्थानमा नेपालले ललितनारायण राजवंशीलाई मौका दिएको थियो। त्यसपछि नेपालले टोलीमा परिवर्तन गरेको छैन ।
दुईवटा खेलमा पराजित तथा एक खेलमा विजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भएपछि नेपाललाई थप दबाब परेको छ। नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिने छ। जसकाकारण पनि नेपालले निकै मेहनतका साथ आफनो प्रदर्शन देखाउनुपर्ने हुन्छ।
यसअघि भएका तीन खेलमध्ये नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। उत्कृष्ट लक्ष्य प्रदान गरे पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा नै पराजयको चोट ब्योहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराउन सफल भएको थियो।
तर, चार चार पटक विश्वकप विजेता टोली वेस्टइन्डिजसँग मैदानमा उत्रेको नेपालले उससँग १ सय १ रनको फराकिलो अन्तरले पराजयको नमिठो अनुभव लिनु परेको थियो। त्यो पीडा भुलाउनका लागि पनि आज नेपालले दबाबमा आएर खेल्नुपर्ने बाध्यता छ। सुपर सिक्समा पुग्नका लागि मैदानमा उत्रन लागेको नेपालले समुह चरणको अन्तिम खेलमा दबाबमा खेल्नुपर्ने बाध्यता रहेको छ।
आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो।































प्रतिक्रिया