विदेशी खेलाडीले भरिएको गण्डकीमाथि पुलिसको जित

विदेशी खेलाडीले भरिएको गण्डकीमाथि पुलिसको जित

केन्द्रबिन्दु
0
Shares

नेपाल भलिबल संघको आयोजनमा राजधानीमा आजबाट सातौं प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० सुरु भएको छ ।

लिगको उप–प्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले एक कार्यक्रमकाबीच लिगको उद्घाटन गरे । श्रेष्ठले अन्तराष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवालाई बल हस्तान्तरण गरेर लिगको उद्घाटन गरेका हुन् ।

पहिलो दिनको खेलमा नेपाल पुलिसले पुरुष तर्फको खेलमा संघर्षपूर्ण जित निकाल्दै गण्डकी प्रदेश भलिबल क्लबसंँग अंक बाँड्न बाध्य भएको छ । आज पहिलो दिनको खेलमा पुलिसले बिदेशी खेलाडीले भरिएको गण्डकीलाई ३–२ सेटमा पराजित गरेको हो । 

पहिलो र दोश्रो सेट २५–२१, २५–१६ ले जितेको पुलिसले तेश्रो सेट १३–२५ ले गण्डकीलाई सुम्पन पुग्यो । चौथो सेटमा ६ अंकको अग्रता लिंदै जितको नजिक पुगेको पुलिसले आफूलाई सम्हाल्न नसक्दा २४–२६ ले गण्डकीलाई सेट सुम्प्यो । अन्तिम तथा निर्णायक खेलमा १५–१० ले जित हात पार्दै पुलिसले गण्डकीसंग अंक बाँड्न बाध्य भयो । यस खेल पश्चात पुलिसले २ अंक र गण्डकीले १ अंक बटुलेको छ । 

आजै भएको पुरुष तर्फको पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लबलाई २५–८, २५–१३, २५–१७ को सहज जितका साथ महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।

नेपाल भलिबल संघको आयोजनमा भएको लिगको अर्को खेलमा एपीएफ क्लबले जित हात पा-यो । एपीएफले दावाँली मिलन क्लबलाई २५–२२, २५–१३, २५–२३ ले पराजित गरेको हो । यसका साथै एपीएफको ३ अंक भएको छ ।

आजै भएको महिलाको खेलमा पुलिस क्लबले गण्डकीमाथि जित हात पा-यो । पुलिसले गण्डकीलाई २५–१०, २५–१०, २५–११ को सहजै पराजित गरेको हो । यसका साथै पुलिसले ३ आफ्नो खातामा ३ अंक जोड्यो ।

यस प्रतियोगितामा जित हात पार्ने टिमले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने काभा क्लब लिग च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्नेछ ।

अनुमानित ७५ लाख खर्च हुने लिगमा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । त्यस्तै, उक्त प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले रु. ३५/३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही रु. १५/१५ हजार प्राप्त गर्ने छन् ।

लिगमा गत माघ महिनामा सम्पन्न क्लब च्याम्पियनसिपबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको ए.पी.एफ. क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब – काठमाडाैँ, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लब – रामेछाप गरि ७ क्लबहरु र महिला तर्फ नेपाल प्रहरी, होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब – बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको भोलिको पहिलो खेल विहान ८:०० बजे सुरु हुने छ ।

Logo