नेपालविरुद्ध यूएई ए अलआउट, कुशल भुर्तेल एक्लैले लिए ६ विकेट

नेपालविरुद्ध यूएई ए अलआउट, कुशल भुर्तेल एक्लैले लिए ६ विकेट


नेपालका कुशल भुर्तेलको घातक बलिङमा एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई ए सस्तैमा समेटिएको छ । 

श्रीलंकाको पी सारा ओभलमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले ४४ ओभरमा १५७ रन बनाउँदा सबै विकेट गुमाएको हो । यूएईका लागि ओपनर लभप्रित सिंहले सर्वाधिक अर्धशतकीय इनिङ खेले । ८२ बल खेलेका उनले ६ चौका र एक छक्काको मदतमा ५२ रन जोडे । 

त्यस्तै, इथान डी सौजा १८ रनमा आउट हुँदा अस्वन्थ भल्थापाले १६ रन, अर्यान्स शर्माले १४ रन तथा जैश जियानानीले १३ रन जोडे । अन्य खेलाडी दोहोरो रन जोड्न सकेनन् । 

यूएईलाई सस्तैमा समेट्न स्पिनर कुशल भुर्तेल एक्लैले ६ विकेट लिए । पूरै १० ओभर बलिङ गरेका उनले ४० रन खर्चिँदै ६ विकेट लिएका हुन् । पछिल्ला खेलमा ब्याटिङमा फ्लप देखिएका उनले आज बलिङमा भने जादूमय नै प्रदर्शन गरेका थिए । यस्तै, मौशम ढकालले २ विकेट तथा कुशल मल्ल, पवन सरार्फले एक एक विकेट लिए।

प्रतियोगितामा दुवै टिमको यो समूह चरणको अन्तिम खेल हो। यसअघिका दुई खेलमा लगातार हार बेहोरेका कारण दुवै टिमको सेमिफाइन पुग्ने सम्भावना समाप्त भइसकेको छ। यसैकारण आजको खेलमा दुवै टिम जितसहित प्रतियोगिताको सुखद् अन्त्यको लक्ष्यमा हुनेछन्।

Logo