इजरायली लिगमा साम्बाको पर्दापणः नेपाली फुटबललाई हेर्ने दृष्टिकोण फराकिलो पार्ने दृढता

इजरायली लिगमा साम्बाको पर्दापणः नेपाली फुटबललाई हेर्ने दृष्टिकोण फराकिलो पार्ने दृढता


नेपाली महिला फुटबलकी सर्वाधिक चर्चित र सफल खेलाडी सावित्रा भण्डारी साम्बाले आउने पुस्ताका लागि पनि ढोका खोल्ने लक्ष्यका साथ इजरायली क्लबबाट प्रदर्शन गर्ने बताएकी छिन् । उनले युरोपको मैदानमा पहिलो पटक व्यवसायिक लिग खेल्न पाउँदा गौरव महसुस भएपनि आफ्नो लागि यो परीक्षा भएको बताइन् । 

बुधबार युवा तथा खेलकुद मन्त्रालयमा उनको इजरायलमा व्यवसायिक करियरको सफलताको कामना सहित विदाई गर्दा भण्डारीले नेपाली फुटबललाई हेर्ने दृष्टिकोण फराकिलो पार्ने प्रतिबद्धता व्यक्त गरिन् । बुधबार युवा तथा खेलकुल मन्त्री डिग बहादुर लिम्बू, अखिल नेपाल फुटवल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपालका लागि इजरायली राजदूत खनान गोडेर लगायतले  विदाई गर्दै भण्डारीको सफलताको शुभकामना दिएका थिए । 

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी इजरायली क्लबबाट व्यवसायिक फुटबल खेल्ने पहिलो नेपाली महिला फुटबलर बनेकी छिन् । सावित्रालाई आफ्नो क्लबबाट व्यवसायिक फुटबल खेलाउन इजरायलको हापोएल रानाना क्लबले अनुबन्ध गरेको छ ।   

कार्यक्रममा स्ट्राइकर साम्बाले युरोपेली लिगमा उत्रन पाउनुलाई आफ्ना लागि अवसर र चनुौती दुवैको रुपमा लिएको बताउँदै डटेर यो परीक्षाको डटेर सामना गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाली फुटबललाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने समेत बताइन् । 

उनले भनिन्, ‘पक्कै पनि मेरो लागि यो गाह्रो हुनेछ । परीक्षाको लागि मेरो यो पहिलो कदम हो र अन्तिम परीक्षा सम्मको लागि म आफुलाई तयार राख्नेछु । आम फुटबल फ्यान र हाम्रो महिला फुटबल टीमलाई हेर्ने दृष्टिकोण भोलिको दिनमा फरक तरिकाको बनाउने प्रयास गर्ने छु । मेरो एउटा नयाँ अध्याय सुरु भएको छ । आउने पुस्ताको लागि बाटो बनाउन पहिलो ढोका खोल्दै छु ।’ 

त्यस्तै, साम्बाले अब आउने नयाँ पुस्ता र देशको लागि गर्न बाँकी रहेका धेरै काम गरेर देखाउने प्रतिवद्धता जाहेर गरिन् । बिदाईको अवसरमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले भण्डारीको फुटवल करियरको सफलताको कामना गर्दै युरोपेली लिग खेल्ने अवसरलाई नेपाली फुटबलको विकासका लागि अझ धेरै योगदान गर्न सक्ने गरि क्षमता विकास गर्न सुझाए । 

उनले भने, ‘यो अवसरलाई नेपालको फुटबल खेलको विकासको लागि पनि प्रयोग गर्न सक्ने क्षमता विकास गर्नुहोस् । आफ्नो कला प्रर्दशन गरेर थप अगाडि बढ्न सक्ने परिस्थिति निर्माणका लागि शुभेक्षा व्यक्त गर्दछु ।’ 

त्यस्तै मन्त्री लिम्बुले नेपालसंँग लामो समयबाट दैत्य सम्बन्ध कायम रहेको इजरायल सरकारले खेल क्षेत्रको विकासका लागि देखाएको सहयोगको प्रसंशा गर्दै आगामी दिनमा पनि खेल र खेलाडीको माध्मबाट दुई देशको सम्बन्धलाई अझ अगाडि बढाउने बताए । 

कार्यक्रममा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले नेपाली फुटवलको इतिहासमा आफ्नो राष्ट्रको फुटबल खेलाडीले पहिलो पटक इजरायली लिग र युरोपमा साम्बाले खेल्न लागेको भन्दै खुशी व्यक्त गरे ।

त्यस्तै, नेपालका लागि इजरायली राजदूत खनान गोडेरले पनि साम्बाको उज्वल भविष्यको कामना सहित सफलताको कामना गर्दै महत्वपूर्ण ऐतिहासिक दिनको रुपमा लिएको बताए । उनले भने ‘आज मलाई निकै खुशी लागेको छ । आजको दिन ऐतिहासिक दिन हो । म यहाँ तपाईंको यात्रा सफलताको कामना गर्न आएको छु ।’ उनले साम्बालाई इजरायलको क्बल र सबैले स्वागतका लागि पर्खिरहेको पनि उल्लेख गरे । 

हापोएल रानाना इजरायलको पहिलो श्रेणीको फुटबल क्लब हो । योसंगै सावित्रा युरोपेली राष्ट्रमा व्यवसायिक फुटबल खेल्ने पहिलो नेपाली फुटबलर पनि बनेकी छन् । २७ वर्षीया सावित्राले इजरायली क्लबबाट सन् २०२३/२४ को सिजनमा व्यवसायिक फुटबल खेल्नेछिन् ।

Logo