आजदेखि महिला विश्वकप फुटबलको नवौँ सस्करण हुने

आजदेखि महिला विश्वकप फुटबलको नवौँ सस्करण हुने


महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आज बाट अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा समुह ‘ए’ अन्तर्गतका दुई खेल आजै हुँदैछन्। 

आयोजक न्युजिल्यान्ड र नर्वेबीच अकल्यान्डमा प्रतिस्पर्धा हुनेछ। अस्ट्रेलिया र आयरल्यान्डबीच सिड्नीमा अर्को खेल हुनेछ। प्रतियोगिता आगामी अगस्त २० सम्म सञ्चालन हुनेछ। 

महिला विश्वकपमा ३२ टोली सहभागि हुँदैछन्। यसअघि २४ टोली मात्र खेलमा सहभागि भएका थिए। जसअनुसार एसियाबाट छ,अफ्रिकाबाट चार,उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट चार, दक्षिण अमेरिकाबाट तीन,ओसेनियाबाट एक र युरोपबाट ११ राष्ट्र सहभागी हुँदैछन्। थप तीन राष्ट्रको टुंगो भने इन्टर कन्फिड्रेसन प्ले अफ प्रतियोगिताबाट लाग्ने छन्।

सन् १९९१ देखि सुरु भएको महिला विश्वकपमा सन् २०११ सम्म १६ टिम मात्र सहभागि थियो। चार वर्षअगाडि फ्रान्समा भएको प्रतियोगितामा टिमको संख्या २४ पुगेको थियो। अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न १२ वटा सहरमा खेलाइने महिला विश्वकपको नवौं संस्करणमा पुरस्कार राशि पनि वृद्धि गरिएको छ। झण्डै ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्‍याइएकाे छ।

महिला विश्वकपको पहिलो संस्करण सन् १९९१ को नोभेम्बर १६ देखि ३० सम्म चीन, दोस्रो १९९५ जुन ५ देखि १८ सम्म स्विडेन, तेस्रो १९९९ जुन १९ देखि जुलाई १० सम्म अमेरिका,चौँथो २००३सेप्टेम्बर २० देखि अक्टोबर १२ सम्म अमेरिकामा भएको थियो।

त्यस्तै, पाँचौं संस्करण सन् २००७ सेप्टेम्बर १० देखि ३०सम्म चीन,छैटौं २०११ जुन २६ देखि जुलाई १७ सम्म जर्मनी, सातौं २०१५ जुन ६ देखि जुलाई ५ सम्म क्यानडा र आठौं २०१९ जुन ७ देखि जुलाई ७ सम्म फ्रान्समा भएको थियो।   

Logo