प्रि-सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब बार्सिलोनामाथि सानदार जित हात पारेको छ ।
आर्सनलले लालिगा च्याम्पियन बार्सिलोनालाई ५-३ गोलअन्तरले पराजित गरेको हो । खेलमा सुरुवाती अग्रता लिए पनि दोस्रो हाफमा कमजोर प्रदर्शन गर्दा बार्सिलोनामाथि आर्सनल हाबी बन्न पुग्यो ।
खेलको सातौं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । तर, १३औं मिनेटमा बुकायो साकाको गोलसँगै आर्सनल खेलमा फर्कियो ।
३४औं मिनेटमा राफिन्हाले बार्सिलोनालाई पुनः २-१ मा अघि बढाए । तर, ४३औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै आर्सनललाई बराबरीमा फर्काएपछि लिआन्द्रो ट्रोसार्डले ५५औं मिनेटमा र ७८औं मिनेटमा गोल गर्दै ४-२ को स्थितीमा ल्याए ।
त्यसपछि ८८औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गरेपनि त्यसको एक मिनेटमै आर्सनलका फाबिओ भिएराले गोल गर्दै ५-३ को जित दर्ता गराए ।
बार्सिलोनाले अब प्रि-सिजनमा रियल म्याड्रिड, एसी मिलान र टोटेनहमसँग खेल्नेछ ।
प्रतिक्रिया