आर्सनलले जित्यो कम्युनिटी शिल्ड

आर्सनलले जित्यो कम्युनिटी शिल्ड

केन्द्रबिन्दु
0
Shares

आर्सनलले टाइब्रेकरमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै एफए कम्युनिटी शिल्ड जितेको छ। खेलको इन्ज्युरी समयको ११ औँ मिनेटमा बराबरी गोल फर्काएको आर्सनलले सिटीलाई स्तब्ध पारेको हो।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा आर्सनल ४-१ ले विजयी हुँदै सिजनको सुखद सुरुवात गर्न सफल रह्यो। सिटीले भने लगातार तेस्रो सिजन कम्युनिटी शिल्ड जित्न सकेन।

युवा खेलाडी कोल पाल्मरले खेलको दोस्रो हाफमा गरेको सुन्दर गोलको सहयोगमा सिटी जित नजिक पुगेको थियो। तर इन्ज्युरी समयको अन्तिम मिनेटमा लिआन्द्रो ट्रोसर्डले गोल गर्दै खेललाई टाइब्रेकरतर्फ धकेले।

टाइब्रेकरमा पहिलो प्रहारमा आर्सनल कप्तान मार्टिन ओडेगार्डले गोल गर्दा सिटीका केभिन डे ब्रुएनको प्रहार क्रसबारमा लागेर फर्कियो। त्यसपछि आर्सनलका ट्रोसार्ड र सिटीका बर्नार्डो सिल्भाले लगातार गोल गरे।

बुकायो साकाले तेस्रो प्रहार गोलमा परिणत गर्दा सिटीका मिडफिल्डर रोड्रीको प्रहार आर्सनलका गोलरक्षक आरोन राम्सडेलले बचाए। आर्सनलका फाबियो भिएराले चौथो प्रहारमा गोल गर्दै आर्सनललाई शिल्ड दिलाए।

पहिलो हाफमा सिटीले बिर्सनलायक प्रदर्शन गर्दा आर्सनलका लागि काइ हाभर्ट्जले अग्रता दिलाउने अवसर गुमाए। सिटीका जर्मन गोलरक्षक स्टेफान ओर्टेगा तुलनात्मक रुपमा बढी व्यस्त देखिएका थिए। नर्वेली फरवार्ड एर्लीङ हालान्डका लागि खेल बिर्सनलायक बन्यो। प्रशिक्षक गुआर्डीओलाले उनको स्थानमा ६४ औँ मिनेटमा पाल्मरलाई मैदान पठाएका थिए।

७७ औँ मिनेटमा पाल्मरको दर्शनीय गोलमा सिटीले अग्रता लिएको थियो। केभिन डे ब्रुएनले हेडरमार्फत दिएको पासलाई पाल्मरले पेनाल्टी क्षेत्र भित्र नियन्त्रणमा लिँदै सेकेन्ड बारमा सुन्दर गोल गरे। खेलमा ८ मिनेटको इन्ज्युरी समय थप गरिएपनि उक्त समयमा खेलाडी घाइते हुँदा खेल लम्बिएको थियो।

आर्सनलले इन्ज्युरी समयको ११ औँ मिनेटमा बराबरी गोल फर्कायो। लिआन्द्रो ट्रोसर्डले गरेको प्रहार डिफेन्डर म्यानुएल अकान्जीलाई लाग्दै गोलमा परिणत भएको थियो। उक्त गोलसँगै खेल टाइब्रेकरमा धकेलिएको थियो।

Logo