पुरुष भलिबल प्रतियोगितामा पुलिस फाइनलमा

पुरुष भलिबल प्रतियोगितामा पुलिस फाइनलमा

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशमाथि जित निकाल्दै विभागीय नेपाल पुलिस क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार भएको खेलमा पुलिसले गण्डकीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो।

पुलिसले पहिलो र दोस्रो सेटमा जित हात पारेर खेल आफ्नो पक्षमा रहेको संकेत गरेको थियो। तेस्रो सेट जितेर गन्डकीले खेलमा फर्कने संकेत गरेको थियो। तर, चौँथो सेटमा जित हात पारेर पुलिसले फाइनल यात्रा पक्का गर्यो।

पुलिसले पहिलो र दोस्रो सेट क्रमश २५-२३, २६-२४ जितेको थियो। तेस्रो सेट २५-२२ गुमाउँदा चौँथो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै पुलिसले जित निकाल्न सफल भयो। 

शुक्रबार नै हुनुपर्ने आयोजक किंग्स क्लब काठमाडौँ र विभागीय नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल खेल निरन्तरको वर्षाका कारण स्थगित भएको छ। तेस्रो सेट चलिरहँदा वर्षा भएपछि खेल पुन सुचारु हुन सकेन।

अब यो खेल शनिबार सुरुआतबाटै हुनेछ। नेपाल भलिबल संघको स्विकृतीमा भएको यस प्रतियोगितामा संघले प्राविधिक सहयोग प्रदान गर्नेछ। प्रतियोगिताको अनुमानित बजेट १७ लाख रहेको छ। आयोजक क्लबका महासचिव लक्ष्मण काप्रीका अनुसार पुरस्कार तर्फ मात्र ४ लाख रकम खर्च हुनेछ। 

प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख २ हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले १ लाख १ हजार नगद प्राप्त गर्नेछ। तेस्रो हुनेले नगद रु ५० हजार ५ सय र सान्त्वनाले रु २२ हजार २ सय प्राप्त गर्ने छ। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार नगद पुरस्कार पाउँने छन् ।

Logo