टी-२० महिला विश्वकप छनोटः मलेसियाविरुद्ध नेपालको रोमाञ्चक जित

टी-२० महिला विश्वकप छनोटः मलेसियाविरुद्ध नेपालको रोमाञ्चक जित


आइसिसी महिला टी-२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बिहीबार भएको पहिलो खेलमा आयोजक मलेसियाविरुद्ध ५ रनको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको हो।  

मलेसियाले भने पहिलो खेल नै जित्ने मौका गुमायो। नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान विनिफ्रेड दुराईसिंगमले २८, ऐना हामिजाह हाशिमले १४ र मास एलिसाले १० रन बनाए।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि कविता कुँवर, कुविता जोशीले दुई/दुई, कप्तान रुबिना क्षेत्री र अश्मिाना कर्माचार्यले एक/एक विकेट लिए ।  

त्यसअघि क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनायो। नेपालका लागि सीता राना मगरले ५४ बलमा एक चौकासहित अविजित ३८ रन बनाइन् । यस्तै, अप्सरी बेगमले १७, कप्तान रुबिना क्षेत्रीले १२, पूजा महतो र कविता जोशीले ५/५ रन बनाए। 

काजल श्रेष्ठ, सम्झना खड्का र इन्दु वर्मा भने शून्यमै आउट भए । मलेसियाका लागि ऐना हामिजाह हाशिमले ४ ओभरमा एक मेडन राख्दै १४ रन दिएर सर्वाधिक २ विकेट लिइन्। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

Logo