१९औँ एसियाली खेलकुदः नेपालको निराशाजनक खेल प्रदर्शन

१९औँ एसियाली खेलकुदः नेपालको निराशाजनक खेल प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन। 

उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे। चौध खेलाडी सहभागी रहेको उक्त स्पर्धामा सिजालीले नौ दशमलव सात सय तीन स्कोर गरे। सो स्पर्धामा आयोजक चीनका खेलाडीले स्वर्ण पदक जिते भने इन्डोनेसियाले रजत तथा मकाउले कास्य पदक प्राप्त गरेको छ। 

यसैगरी उसुको सान्सौं (फाइट) तर्फ  नेपालकी एलिना चौधरी र रोहित चुनारा पनि पराजित भए। महिला ५२ किलोतर्फ चौधरी इरानकी खेलाडीसित पराजित भइन्। पुरुष ५६ किलोतर्फ चुनरा किर्गिस्तानका खेलाडीसित पराजित भए। यस्तै ६० किलोमा नेपालका मगलप्रसाद थारु पनि किर्गिस्तानका खेलाडीसित पराजित भए। 

यस्तै महिला ताइजियानमा नेपालकी सविता राई आठ दशमलव सात सय ९६ स्कोरका साथ अन्तिम स्थानमा रहिन्। उक्त स्पर्धामा चीन पहिलो, ब्रुनाइ दोस्रो तथा थाइल्यान्ड तेस्रो भयो। यस्तै ७० किलोतर्फ नेपालका पदम राई क्वाटरफाइनलमा लाओसका खेलाडीसित पराजित भए। 

सुटिङमा पनि नेपालले आइतबार निराशाजनक खेल प्रदर्शन गर्यो। सुटिङको १० मिटर महिला एयर राइफल्समा श्लिषा भण्डारी ४७ औँ र सुस्मिता नेपाल ५८औँ स्थानमा रहे। उक्त स्पर्धामा ५९ खेलाडी सहभागी भएका थिए।

इ फुटबलतर्फ नेपालका समीर गुरूङ मकाउका खेलाडीसित २ १ अंकले पराजित भए। यसैगरी तेक्वान्दोको पुम्सेमा नेपालकी स्वस्तिका तामाङ सिंगापुरकी खेलाडीसित पराजित भइन्। पुरुषतर्फ प्रेमबहादुर लिम्बू फिलिपिन्सका खेलाडीसित क्वाटरफाइनलमा पराजित भए। उनले प्रिक्वाटर फाइनलमा पाकिस्तानका खेलाडीलाई हराएका थिए।

यस्तै जुडोमा नेपालका विकास विक तुर्किमिनिस्तानका खेलाडीसित १० ० अकले पराजित भए। यसअघि उनले कम्बोडियाका खेलाडीलाई १० ० अकले पराजित गरेका थिए। देवकी श्रेष्ठ मंगोलिया तथा इन्द्र श्रेष्ठ हङकङका खेलाडीसित पराजित भए।

यसैगरी पौडीको एक सय मिटर फ्रिस्टाइलको हिट राउन्डमा एलेक्स शाह आठौँ स्थानमा रहे। रग्बी सेभेनमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)का खेलाडीसित पराजित भए। 

यस्तै बक्सिङमा पनि नेपालकी संगीता सुनार ६० किलो तौल समुहमा तथा दिपक श्रेष्ठ पुरुष ८० किलो तौल समुहमा पराजित भए। सुनार भियतनामकी खेलाडीसित ५–० अंकले पराजित भइन्। श्रेष्ठ उज्वेकिस्तानका खेलाडीसित ५–० अंकले नै पराजित भए। महिला ५४ किलो तौल समुहमा नेपालकी मिनु गुरुङ जापानकी खेलाडीसित ५ ० अंकले पराजित भइन्।

यस्तै टेनिसमा नेपालका प्रदीप खड्काले पुरूष सिंगल्समा इस्ट टिमोरका खेलाडीलाई ६–० र ६–० अकको सोझो सेटमा पराजित गरे। उनी  अन्तिम ३२ मा प्रवेश गरेका छन्। तर नेपाली खेलाडी महिला सिंगल्स र पुरुष डबल्सतर्फ भने पराजित भए। 

महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमै बाइ पाएका थिए। दोस्रो चरणमा विष्ट थाइल्यान्डकी खेलाडीसित तथा राणा दक्षिण कोरियाली खेलाडीसित पराजित भइन्। पुरुष डबल्समा प्रदीप खड्का र अभिषेक बाँस्तोलाको जोडी भारतीय खेलाडीसित ६-२ र ६-३ अकले पराजित भए।  यस्तै तेक्वान्दोतर्फ नेपालका प्रेमबहादुर लिम्बू पनि पराजित भए। उनी फिलिपिन्सका खेलाडीसित पराजित भए। लिम्बू सेमिफाइनल सेमिफाइनल पुग्न असफल रहे।

Skip This
Skip This
Logo