पोखरा,
पोखरा रंगशालामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा साबिक विजेता थ्री स्टार क्लबलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
पुलिसको जीतमा निरकुमार राईले दुई गोल गरे । त्यस्तै भरत शाहले एक गोल गरे । साबिक विजेता थ्री स्टारविरुद्ध खेलको दशौँ मिनेटमा भरतले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पुलिसले दुई गोल थप्यो ।
खेलको ५१ औं मिनेटमा निरले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ७२ औं मिनेटमा निरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३–० को सहज जीत दिलाए । पुलिसका निर म्यान अफ दि म्याच बने । अब पुलिसले उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रकाशित: २८ फागुन २०७६ १७:५० बुधबार