साउदी अरेवियामाथि ३०२ रनको विशाल जित हात पार्दै नेपाल सेमिफाइनलमा

साउदी अरेवियामाथि ३०२ रनको विशाल जित हात पार्दै नेपाल सेमिफाइनलमा


नेपाल एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियाेगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा साउदी अरेवियामाथि ३०२ रनको जित हात पार्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपालले दिएको ३४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको साउदी १९.१ ओभरमा अलआउट हुँदै ४६ रनमै समेटिएको हो । नेपालका स्पिनर दीपेश कँडेलले घातक बलिङ प्रदर्शन गरेपछि साउदीका कुनैपनि खेलाडीले राम्रो पदर्शन गर्न सकेनन् । साउदीका बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए । अब्दूल्लाह शिराज र मोहम्मद अहमदले समान ९/९ रन जोड्दा अन्य ब्याटरले पनि दोहोरो अंक छुन सकेनन् ।  

बलिङमा नेपालका दीपेश कँडेलले ६ विकेट लिए । त्यस्तै, आकाश चन्दले  २ विकेट तथा सुवास भण्डारीले एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रनको योगफल बनाएको थियो । नेपालका अर्जुन कुमालले सर्वाधिक १ सय ४२ रनको योगदान दिए । उनले  १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको शतकीय इनिङ खेले । यस रनसँगै अर्जन नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बने ।

यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने कुशल मल्लका नाममा थियो । गत असोजमा चीनमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्धको खेलमा उनले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा अविजित रहेका थिए ।

त्यसैगरी आकाश त्रिपाठीले ९० रन बनाए भने दीपक बोहराले २९ रन जोडे । दीपकप्रकाश डुम्रेले १४ रन जोडे । मिलन बोहराले ९ रन बनाए भने दीपेश कँडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले समान दुई/दुई विकेट लिए भने जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले समान एकएक विकेट लिए ।  

समूह ए मा नेपाल ३ खेलमा शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा रहँदै  सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो । 

Logo