हङकङमाथि सानदार जितसहित नेपाल एक खेल अगावै फाइनलमा

हङकङमाथि सानदार जितसहित नेपाल एक खेल अगावै फाइनलमा

केन्द्रबिन्दु
0
Shares

नेपाल त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको तेस्रो खेलमा हङकङमाथि ७९ रनको सानदार जित निकाल्दै नेपाल एक खेल अगावै फाइनलमा स्थान बनाएको हो । 

मुलपानी क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमै समेटिएको हो । हङकङको सुरुवात भने खराव रह्यो । नेपालका तीव्र गतिका बलर करण केसीले पहिलो ओभर नै मेडन ओभर राखेका थिए । उनले दोस्रो बलमै मार्टिनलाई शून्य रनमै आउट गरेका थिए । त्यसपछि अन्सी राथले सर्वाधिक ४५ रन जोडे । त्यस्तै, अजिज खानले २५ रन तथा बाबर हायातले २० रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन । 

नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले २-२ विकेट लिए । बायाँ हाते स्पिनर ललितले एसियाली खेलकुदको तयारीका क्रममा गत महिना चोट बोकेपछि पहिलाेपटक पुनरागमन गरेका हुन् । त्यस्तै, दीपेन्द्र र डेब्यु गरिरहेका प्रतिश जिसीको नाममा १-१ विकेट रह्यो ।

May be an image of 4 people and text

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो । नेपालका लागि युवा अलराउण्डर कुशल मल्लले सर्वाधिक ९२ रनको अर्धशतकीय इनिङ खेले । ४० बल खेलेका उनले ३ चौका र ९ छक्का प्रहार गरे । शतक बनाउने धुनमा ठूलो शट खेल्दा उनी क्याच आउट हुन पुगे । 

साथै दीपेन्द्रसिंह ऐरीले ५७ रनको अर्धशतकीय इनिङ खेले ।  

नेपालको सुरुवात राम्रो हुन सकेन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल २ रनमै आउट भए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि ८ रनमा आउट भए । ओपनर आसिफ शेख २० तथा कप्तान रोहित पौडेल ११ रनमा समेटिँदा नेपालले ५५ रन मात्रै जोडेकाे थियो तर, जब कुशल र दीपेन्द्र क्रिजमा जमे अनि नेपालको रनको वर्षा भयो । उनीहरुले १४५ रनको साझेदारी गरेका थिए ।

बलिङमा हङकङका लागि मोहमद घजन्फ़रले २ विकेट लिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले १/१ विकेट प्राप्त गरे ।

नेपालले अघिल्ला दुई खेलमा लगातार दुई जित हात पारिसकेको छ। पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो। यस्तै दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो। अब नेपालले आफ्नो अन्तिम खेल सोमबार यूएईसँग खेल्नेछ । त्यसपछि यूएई र हङकङले आइतबार र बुधबार एक आपसमा खेल्नेछन् । फाइनल शुक्रबार हुनेछ ।

Skip This
Skip This
Logo