कोहली र शामीको उत्कृष्ट प्रदर्शनमा भारत शीर्षस्थानमा

कोहली र शामीको उत्कृष्ट प्रदर्शनमा भारत शीर्षस्थानमा


शीर्षक्रमका ब्याटर विराट कोहली र तीव्र गतिका बलर मोहम्मद शामीको उत्कृष्ट प्रदर्शनमा भारतले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ। यो जितसँगै भारत १० अंकका साथ शीर्षस्थानमा उक्लिदै सेमिफाइनल नजिक पुगेको छ।

जितका लागि २ सय ७४ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले ४८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। भाारतका विराट कोहलीले १ सय ४ बलमा ८ चौका र २ छक्कासहित ९५ रनमा आउट भए।

उनी म्याट हेनरीको ४८ औं ओभरको चौथो बलमा डिप मिडविकेटमा ग्लेन फिलिप्सबाट क्याच आउट भएपछि करिअरको ४९ औं शतक पूरा गर्न मात्रै पाँच रनले चुकेका थिए ।

भारतलाई कप्तान रोहित शर्माले ४० बलमा ४ चौका र ४ छक्कासहित ४६ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । उनी लोकी फर्गुसनको बलमा बोल्ड आउट भए । पहिलो विकेटका लागि रोहित र शुभमन गिलले ११.१ ओभरमा ७१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

गिल ३१ बलमा ५ चौकासहित २६ रनमा आउट भए । श्रेयस ऐर २९ बलमा ६ चौकासहित ३३ रन बनाउँदै क्याच आउट भएका थिए । मिचेल सान्टनारले लोकेश राहुललाई २७ रनमा एलबीडब्लू आउट गरे।

सूर्य कुमार यादव २ रनमा रन आउट भए। एक समय भारत ३३.५ ओभरमा १९१-५ को अवस्थामा पुगेको थियो। त्यसपछि कोहली र जडेजाले छैटौं विकेटका लागि ७८ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए।

जडेजा ४४ बलमा ३ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे। न्युजिल्यान्डका लोकी फर्गुसनले ८ ओभरमा ६३ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल सान्टनारले एक एक विकेट लिए।

त्यसअघि धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा २ सय ७३ रनमा अल आउट भएको थियो। न्युजिल्यान्डका मध्यक्रमका ब्याटर डर्याल मिचेलले १ सय २७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३० रनको सानदार शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन। उनको यो ओडिआई करिअर पाँचौं र विश्वकपको पहिलो शतक हो।

दोस्रो विकेटका लागि मिचेल र रचिन रविन्द्रले १ सय ५९ रनको सानदार शतकीय साझेदारी गरेका थिए। रविन्द्र ८७ बलमा ६ चौका र १ छक्कासहित ७५ रनमा आउट भए। मिचेल र रविन्द्र बाहेक अन्यले राम्रो गर्न नसक्दा न्युजिल्यान्डले विशाल योगफल बनाउने अवसर गुमाएको थियो। त्यो नै हारको प्रमुख कारण बन्यो।

मोहम्मद शामीको ३४ औं ओभरको तेस्रो बलमा रविन्द्र लङअनमा क्याच आउट भएका थिए। ओपनर डेभन कन्वे मोहम्मद शिराजको बलमा शून्यमा क्याच आउट भएका थिए। विल योंगलाई मोहम्मद शामीले १७ रनमा बोल्ड आउट गरेका थिए।

एक समय ८.१ ओभरमा १९(२ को अवस्थामा थियो । त्यो अवस्थाबाट रचिन र मिचेलको साझेदारीले न्युजिल्यान्डले विशाल योगफलको आधार तय गरेको थियो । तर त्यसपछिका ब्याटरले भने राम्रो रन बनाउन सकेनन्।

कप्तान टम लाथम ५, ग्लेन फिलिप्स २३, मार्क च्यापम्यान ६, मिचेल सान्टनार १ र म्याट हेनरी शून्यमा आउट भए।भारतको जितमा मोहम्मद शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए । कुलदीप यादवले १० ओभरमा ७२ रन खर्चेर २ विकेट लिए। जस्प्रित बुमराह र मोहम्मद शामीले समान १–१ विकेट लिए ।

न्युजिल्यान्ड ५ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । भारत ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । न्युजिल्यान्डले अव आगामी शनिबार अष्टेलियासँग खेल्नेछ। भारतले आगामी आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।

Logo