आर्सनलले सेभिल्लालाई हरायो

आर्सनलले सेभिल्लालाई हरायो


च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सेभिल्लालाई २-१ गोल अन्तरले हराएको छ। समूह बी अन्तर्गत सेभिल्लाको घरेलु मैदानमा आर्सनलले जित निकालेको हो। 

खेलमा अग्रता आर्सनलले गेब्रियल मार्टिनेलीको गोलमा लिएको थियो। गेब्रियल जिससको पासलाई सदुपयोग गर्दै पहिलो हाफको इन्जुरी समयमा मार्टिनेलीले आर्सनललाई अघि बढाएका थिए। 

दोस्रो हाफको ५३ औँ मिनेटमा उनै जिससले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाएका थिए। सात पटकको युरोपा लिग च्याम्पियन सेभिल्लाका नेमान्जा गुडेलजले ५८ औँ मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेनन्।

च्याम्पियन्स लिगको पछिल्लो खेलमा लेन्ससँग १-० ले पराजित भएपछि सेभिल्लाविरुद्धको खेल आर्सनललाई कठिन हुने ठानिएको थियो। 

मिकेल अर्टेटा नेतृत्वको आर्सनलका जिसस खेलको अन्तिम समयमा चोटका कारण मैदान छाड्न परेको थियो। तर लण्डन क्लबले स्पष्ट जित सहित समूह तालिकामा आफूलाई शीर्ष स्थानमा राख्न सफल भएको छ। 

समूह बीको शीर्ष स्थानको आर्सनलको ३ खेलबाट ६ अंक भएको छ। दोस्रो स्थानको लेन्सको ५, सेभिल्लाको २ र पुछारको पीएसभी इन्होभेनको २ अंक छ। 

Logo