म्यानचेस्टर सिटी र टोटेनहम हट्सपरबीच इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेल ३-३ को रोमान्चक बराबरीमा सकिएको छ। सिटीविरुद्ध लगातार बाधक बन्दै आएको टोटेनहमले खेलको अन्त्यतिर गोल गर्दै पुन: एकपटक सिटीलाई जितबाट बन्चित गरेकाे हाे। सिटी अंक तालिकाको तेस्रो स्थानमा झर्दा टोटेनहमले भने लगातार हारको सिलसिलामा पूर्णविराम लगायो।
टोटेनहमका कप्तान ह्युङ मिन सनले दुवै पोस्टमा गोल गर्दा सिटीका लागि ज्याक ग्रिलिस र फिल फोड गरे। स्पर्सका लागि जिओभानी लो सेल्सो र डेजान कुलुसेभ्स्कीले बराबरी गोल फर्काएका थिए।
खेलको सातौं मिनेटमा टोटेनहमले कप्तान ह्युङ मिन सनको गोलमा अग्रता लियो। सिटीले हानेको कर्नरबाट सुरु भएको काउन्टर अट्याकलाई सनले मध्यभागबाट अघि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए।
तर स्पर्सले अग्रता लिएको दुई मिनेटपछि नै खेल बराबरीमा आयो। सनले सिटीको फ्रिकिकमा आएको बललाई अकस्मात घुँडाले आफ्नै पोस्टको दिशा दिएपछि खेल १-१ को स्थितिमा आइपुग्यो।
३१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै खेलमा सिटीलाई अघि बढाए। उनले अल्भारेजले पेनाल्टी क्षेत्र भित्र दिएको चलाखीपूर्ण पासलाई नियन्त्रणमा लिँदै गोलमा परिणत गरे।
दोस्रो हाफमा टोटेनहमले पुन: खेल बराबरीमा ल्यायो। ६९ औँ मिनेटमा अर्जेन्टिनी मिडफिल्डर जिओभानी लो सेल्सोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एडरसनले रोक्न सकेनन्।
८१ औं मिनेटमा सिटीले ज्याक ग्रिलिसको गोलमा अग्रता लियो। इभ्स बिसुमाले आफ्नै पेनाल्टी क्षेत्र बाहिर बल फुस्काएपछि सिर्जना भएको अवसरमा ग्रिलिसले कुनै गल्ती गरेनन्। उनले हालान्डको क्रसमा टोटेनहमविरुद्ध करिअरकै पहिलो गोल गरे।
खेलको ९० औं मिनेटमा पाहुना टोलीले पुन: खेल बराबरीमा ल्यायो। ब्रेनन जोन्सनको क्रसमा डेजान कुलुसेभ्सकीले हेडरमार्फत गोल गर्दै खेललाई ३-३ को स्थितिमा ल्याए।
खेलको इन्ज्युरी समयमा सिटीले अर्को गोल गर्ने संघारमा थियो। तर ज्याक ग्रिलिस अफसाइड ट्रयाप बिट गरेर अघि बढेको अवस्थामा रेफ्रीले सिटीकै पक्षमा फलको लागि सिठी फुक्दा म्यानचेस्टर सिटीका खेलाडी र अफिसियल रेफ्रीविरुद्ध रुष्ट बनेका थिए।
यस नतिजासँगै सिटीको १४ खेलमा ३० अंकसाथ तेस्रो स्थानमा झरेको छ। शीर्षस्थानको आर्सनलले ३३ र दोस्रो स्थानको लिभरपुलले ३१ अंक जोडेको छ। छैटौं स्थानको टोटेनहमको २६ अंक छ।































प्रतिक्रिया