लकडाउन खुलेपछि के छ राष्ट्रिय खेलाडीहरुको योजना ?

लकडाउन खुलेपछि के छ राष्ट्रिय खेलाडीहरुको योजना ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण धेरै जसो देशहरुले संक्रमणबाट बच्न आफ्नो देशमा लकडाउन गरेका छन् । जसमा नेपाल पनि अछुतो छैन ।

कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले पनि गत महिना (चैत्र ११ गते) बाट लकडाउन लगाएको छ । एक हप्ताको अवधि राखेर सुरु गरिएको लकडाउन थप गर्दै हाल वैशाख २५ गतेसम्म पु¥याइएको छ । कोरोनाको संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण मानिसहरूलाई अत्यावश्यकबाहेक अन्य कामका लागि बाहिर निस्किन दिइएको छैन ।

लकडाउनका कारण विश्व खेलकुद साथै नेपाली खेलकुद क्षेत्र समेत ठप्प रहेको छ । व्यक्तिगत सुरक्षा र जनस्वास्थ्यका लागि खेलाडीहरु पनि घरभित्र बसिरहेका छन् । दैनिक मैदानमा दिन बिताउने खेलाडीहरुको दैनिकी फेरिएको छ । दैनिकी घरभित्र सिमित हुँदा खेलाडीहरु अभ्यास गर्न र खेल्न नपाएर छट्पटिएका छन् । विभागीयका कतिपय खेलाडी भने ड्युटीमा खटिएका छन् ।

लकडाउन खुलेपछि खेलाडीहरुको योजना के छ , भनेर केन्द्रबिन्दुका संवाददाता सृजना राईले राष्ट्रिय फुटबल तथा भलिबल खेलाडीहरुसँग कुराकानी गरेकी छिन् ।

बिमल घर्ती मगर (मिडफिल्डर)
अहिले म बुटवल आफ्नो घरमा आएको छु । लकडाउनपछि विश्वकप छनौट सुरु हुने कुरा छ त्यसैले लकडाउन खुलेपछि सुरुमा काठमाडौं जान्छु । अनि अभ्यासका लागि मैदान जान्छु । मैदानमा अभ्यास नगरेको पनि धेरै भइसक्यो त्यसैले यो पाली धेरै मेहनतको जरुरत छ । पहिलाको जस्तो नियमित एक्सरसाईज गरेको छैन । त्यसैले मैदान फर्केपछि एकदम सिरियस रुपमा आफुलाई प्रस्तुत गर्नेछु ।

बिशाल श्रेष्ठ (गोलकिपर)
लकडाउन चाडै खुल्छ भन्ने कुरामा आशावादी छु । साथै लकडाउन पछि राष्ट्रिय टिमको क्याम पनि सुरु हुन्छ भन्ने सोचेको छु । मैदानमा फर्कन एकदमै आतुर भएको छु । आफूलाई फिट राख्न घरमै अभ्यास गरिरहेको भएपनि मैदानमा गरेजस्तो प्रभावकारी हुदैन । त्यसैले मैदानमा फर्केको केही दिनहरु गाह्रो हुनेछ । तर, आफूलाई छिटै फिट गराएर आउने खेलको लागि तयार हुन्छु ।

सावित्रा भण्डारी (स्ट्राइकर)
लकडाउन भएपनि म राष्ट्र र जनताको सुरक्षामा निरन्तर खटिरहेकी छु । सेल्फ ट्रेनिङ गरेपनि आफ्नो साथीहरुसँग तयारी गर्न पाएको छैन । त्यसैले लकडाउनपछि सुरुमा साथीहरुसँग नियमित ट्रेनिङ गर्छु । र आफ्नो एपीएफ टिमलाई अगाडीको जस्तै बलियो बनाएर मैदानमा जान चाहन्छु । अभैm सम्भव भएसम्म राष्ट्रिय टिमका खेलाडीसँग तयारी गर्न पाए राम्रो हुन्थ्यो । राष्ट्रिय टिमसँग पनि पहिलेको जसरी तयारी गर्ने मेरो इच्छा छ ।

सरस्वती चौधरी (राष्ट्रिय भलिबल खेलाडी र एपीएफ क्लब)
कोठामै बसेर सामान्य अभ्यास गरिरहेकी छु । तर, बल भने नछोएको धेरै नै भईसक्यो । लकडाउन अघि मलाई चोट लागेको थियो । त्यसैले आफ्नो फिजिकल फिटनेसलाई बढी फोकस दिन्छु । लकडाउन पछि टिमसँग ट्रेनिङ गर्छु । साथीहरु भन्दा मैले अलिक बढी नै मिहेनत गर्नुपर्छ । किन कि चोटले गर्दा म लकडाउन अघि देखि नै मैदान बाहिर छु । थाहा छैन लकडाउनपछि टे«निङमा जाँदा दौडिन, उफ्रन, खेल्न सक्छु कि सक्दिन ।

एन्जिला तुम्बाप्पो सुब्बा (गोलरक्षक)
म एउटा खेलाडीसँगै देशको अंगरक्षक पनि हु । त्यसैले लकडाउन भए पनि म आफ्नो राष्ट्र सेवाको निम्ति निरन्तर खटिरहेकी छु । लकडाउन खुलेपछि चाहिं घर जान मन छ । देशको कर्मचारी भएकोले यस्तो अप्ठ्यारो परिस्थितीमा बिदा माग्न मन लागेन । लकडाउन पछि चाहिं अफिसमा बिदा माग्छु स्वीकृत भए घर जान्छु । यदि बिदा स्वीकृत भएन भने क्लबमै बसेर आफ्नो टिमसँग अभ्यास गर्छु । तर, पहिलो प्राथमिकता भने घरनै जाने छ ।

प्रतिभा माली (राष्ट्रिय भलिबल टिम, न्यु डाइमण्ड क्लब)
लकडाउन पछि मेरो खासै त्यस्तोे त योजनाहरु छैन । म अहिले पनि बेड रेस्ट मै छु । माघको अन्तिमतिर घुँडाको लिगामेन्ट च्यातिएर शल्यक्रिया गरेको थिए । डाक्टरले तीन महिना बेड रेस्ट गर्नु भनेको छ । तीन महिनासम्म खुट्टामा जोड दिन मिल्दैन त्यसै कारण आराम गरिरहेको छु । हल्का हिड्न सक्ने भएको छु लकडाउन खुलिहाले छ भने न्यु डाईमण्ड स्कुल गएर साथीहरुले भलिबल खेलेको हेर्नेछु ।

दिनेश राजवंशी (डिफेन्डर)
लकडाउनपछि अभ्यासमै व्यस्त हुन्छु । लकडाउन पछि मोफसल प्रतियोगिताहरु सुरु हुन्छ भन्ने लागेको छ, त्यस्को लागि तयारी गर्छु । आफु छिटै फर्ममा फर्कने कोशिस गर्नेछु । विश्वकप छनौट पनि सुरु हुने भएको छ । यस पटक गम्भिरताका साथै कडा मिहेनतका साथ आफूलाई प्रस्तुत गर्नेछु । र राष्ट्रिय टिममा आफ्नो स्थान बनाउँछु ।

कुलबहादुर थापा (राष्ट्रिय भलिबल टिम र पुलिस)
राष्ट्रसेवक भएका कारण लकडाउन भएपनि हामीलाई नजिकैको स्थानमा ड्युटीमा खटाएको छ । लकडाउनपछि पहिलो प्राथमिकता प्रशिक्षण र खेल राम्रो बनाउनु नै हो । बल नछोएको धेरै भईसक्यो । तर, कोठामै सामान्य अभ्यास गरिरहेको छु ।

Logo