एजेन्सी ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रमुख कार्यकारी समितिको बैठक बसेको छ । विश्वव्यापी फैलिएको कोरोना भाईरसको महामारीका कारण भिडियो कन्फरेन्समार्फत समितिको बैठक बसेको हो ।
बैठकमा १२ पूर्ण सदस्य राष्ट्र र ३ एसोसियट राष्ट्रको सहभागिता रहेको थियो । बैठकमा सहभागी राष्ट्रले कोरोनाको कारण क्रिकेटमा उत्पन्न चुनौती मिलेर सामना गने प्रतिवद्धता जनाएका छन् । सहभागी राष्ट्रले कोरोनाको प्रभावबारे जानकारी गराएका थिए । ठूला प्रतियोगिताका विभिन्न योजनाहरुलाई भने जारी राख्ने सहमति भएको आईसीसीले जनाएको छ । जसमा पुरुष टी–२० विश्वकप र सन् २०२१ को महिला विश्वकप समेत रहेको छ ।
त्यस्तै कोरोनापछि क्रिकेट सुचारु गर्ने विषयमा समेत छलफल भएको छ ।
‘अन्तर्राष्ट्रिय क्रिकेट फेरि शुरु गराउने सम्बन्धमा जिम्मेवार निर्णय लिनुपर्नेमा सहमत भयौँ’–‘आईसीसीका प्रमुख कार्यकारी मनु श्वानेले भनेका छन्–‘आईसीसीको विश्वव्यापी कार्यक्रमहरु सम्पन्न गर्न जटिलताहरू विस्तृत छन् । हामी यसमा संलग्न सबैको स्वास्थ्य र सुरक्षाको रक्षा गर्नका लागि तयार छौँ ।’
बैठकमा विभिन्न राष्ट्रको भ्रमण कार्यक्रम बारेमा समेत छलफल भएको उल्लेख गरिएको छ । सन् २०२३ सम्म तय भएको प्रतियोगिताहरु सम्भव भएसम्म पुनः हेरफेर गर्न सकिने जनाईएको छ । विश्व टेष्ट च्याम्पियनसिप र क्रिकेट विश्वकप सुपर लिगको बारेमा आगामी दिनमा विचार गरिने आईसीसीले जनाएको छ ।
अष्ट्रेलिया क्रिकेटका प्रमुख कार्यकारी केभिन रोबर्ट्सले आईसीसी र आफ्नो स्थानीय आयोजक कमिटिले विश्वकपको बारे निरन्तर छलफल गरिरहेको बताए ।
‘क्रिकेट अष्ट्रेलियाले नजिकबाट आईसीसी र स्थानीय आयोजक कमिटिसँगै अष्ट्रेलिया सरकारसँग मिलेर टी–ट्वान्टी विश्वकप अक्टोबरमा खेलाउन सकिने वा नसकिने विषयमा छलफल गर्दै आएका छौँ’–उनले भने–‘हामीले यो प्रतियोगिताको लागि सबैको राय लिँदै आएका छौँ । सबैलाई सुरक्षितका साथ यस्तो उत्कृष्ट प्रतियोगिता आयोजना गर्दै खुसियाली मनाउन चाहान्छौँ ।’





























प्रतिक्रिया