बडिबिल्डरहरु घरमा नै बसेर यसरी गर्दैछन् जिम

बडिबिल्डरहरु घरमा नै बसेर यसरी गर्दैछन् जिम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण धेरै जसो देशहरुले संक्रमणबाट बच्न आफ्नो देशमा लकडाउन गरेका छन् । जसमा नेपाल पनि अछुतो छैन । आज (आइतबार) नेपाल लकडाउनको १३ औं दिनमा पुगेको छ । नेपाल लकडाउन भएसँगै सम्पूर्ण जिम हलहरु पनि बन्द भएका छन् ।

सबैका आ–आफ्नै समस्या छन् । तर, बडी बिल्डर (शारीरिक सुगठन) खेलाडीहरुलाई भने सबैभन्दा चिन्ता आफ्नो बडी (ज्यान) कै भएको छ ।

जिम नगरेपछि शरीरका अंगहरू असन्तुलित हुँदै जाने र स्फूर्तिमा कमी आउने हो कि भन्ने चिन्ताले अहिले उनीहरु घरमै पानीको जार, गमला, ग्यास सिलिन्डर, चामलका बोरा लगायतका घरेलु सामग्रीहरुलाई जिमका उपकरणका रुपमा प्रयोग गरी आफूलाई चुस्त राख्न सक्दो प्रयास भने गरिरहेका छन् ।

लकडाउनले नयाँ बानेश्वरका जुनियर मिस्टर काठमाडौं २०१९ बिजेता ओजश जोशी पनि घरमा लक भएका छन् । लकडाउनपछि उनी पनि जिम जान पाएका छैनन् । उनले घरमा भएको चामलको बोरा, पानीको जार, ग्यास सिलिन्डर आदिलाई आफ्नो जिम सामग्री बनाएर आफ्नो बडी मेन्टन गरिरहेका छन् । ‘लकडाउनको सुरु दिनदेखि नै दैनिक रुपमा आफ्नो रेगुलर एक्सरसाइज गरिरहेको छु तर, जिममा गरेको जस्तो प्रभावकारी हुदैन । उपकरणहरु घरमा पर्याप्त मात्रामा हुँदैन, त्यस्तै आराम समय धेरै भइरहेको छ, यसो हुँदा मोटाइन्छ । स्फूर्ती कम हुन्छ । मसल्स् घट्छ’–उनले चिन्तित मुद्रामा केन्द्रबिन्दुसँग भने ।

जोशीले जिम गर्न थालेको तीन वर्ष भयो । ‘सामान्य व्यायाम सबैलाई आवश्यक छ तर, जिम एउटा नशा हो । गरेपछि गरिरहन मन लाग्छ, मलाई त पुरै जिमको लत बसिसकेको छ । लकडाउनमा जिम जान पाइएन ।’ त्यस्तै डाईट समेत राम्ररी खान नपाएको उनी बताउँछन् । भन्छन्, ‘लकडाउनले एउटा फाइदा भने गरेको छ, आफ्नो परिवारलाई व्यायाम सिकाउने मौका पाएको छु । घरमा सबैजना फुर्सदमै छौं । परिवारका सबैलाई व्यायाम सिकाइरहेको छु ।’

स्वयम्भूका निशान्त प्रधान पनि ग्यास सिलिन्डरबाट वर्कआउट गरिरहेका छन् । उनी ग्यासलाई डन्डीको दुईतिर बाँधेर डमबेल बनाउँदै आगामी सेप्टेम्बरमा हुने प्रतियोगिताका लागि आफूलाई तयार पारिरहेका छन् ।

Logo