सिरहा ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद जगतलाई व्यावसायिक बनाउन तीनै तहको सरकारसँगै सङघसंस्थाको पनि लगानी आवश्यक रहेको बताएका छन् ।
सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा एकीकृत खेलग्रामको शिलान्यास तथा तेस्रो मेयर गोल्डकप फाइनल प्रतियोगितालाई बुधबार सम्बोधन गर्दै मन्त्री विश्वकर्माले भने, ‘‘विकसित मुलुकमा सरकारसँगै निजी क्षेत्रले पनि खेलकुदमा लगानी गरेका धेरै उदाहरण छन्, नेपाली खेलकुदलाई थप उचाइमा पु¥याउन पनि सबै क्षेत्रको लगानीको आवश्यक छ ।”
वर्तमान सरकारले खेलकुद पूर्वाधार विकासका लागि ८४ वटा पालिकामा लगानी गरिरहेको बताउँदै मन्त्री विश्वकर्माले त्यही नीति अनुरुप सिरहाको गोलबजारमा पनि खेलकुद ग्राम निर्माण गर्न लागिएको बताए । उनले चालू आर्थिक वर्षमा एक करोड बजेट यो खेलग्रामको लागि छुट्याएको जानकारी दिए।
मन्त्री विश्वकर्माले खेलकुद व्यक्तिगत स्वास्थ्यसँगै अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको पहिचान बनाउन पनि महत्वपूर्ण भएको बताए । उनले खेलकुद क्षेत्रको विकास गर्न सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारसँगै सङ्घसंस्थासँग समेत समन्वय गरी अघि बढिरहेको बताए । सो अवसरमा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले खेलग्राम निर्माणका लागि करिब सात अर्ब लाग्ने गरी डीपीआर तयार भएको जानकारी दिए ।
रासस





























प्रतिक्रिया