काठमाडौं ।
हालै सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि जितेको छ ।
झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो । मछिन्द्रको जितमा बिमल घर्ति मगरले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा बिमलले पेनाल्टीमा गोल गरेका हुन् ।
थ्री स्टारका अशोक खवासले मछिन्द्रका सोमिडे एडिलाजालाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा बिमलले गोल गरेका थिए । उपाधिसँगै मछिन्द्रले ६ लाख प्राप्त गरेको छ भने उपविजेता थ्री स्टारले ३ लाख प्राप्त गरेको छ ।
यससँगै मछिन्द्रले लिग जितेको एक साता नबित्दै दोस्रो उपाधि जितेको छ । मछिन्द्रले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी तथा लिग उपविजेता त्रिभुवन आर्मी क्लबलाई २–० ले हराएको थियो । थ्री स्टारले भने आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले हराएको थियो ।





























प्रतिक्रिया