मनाङ मर्स्याङ्दीकी समर्थकले गरेको व्यवहारप्रति ब्रिगेड ब्वाईज क्लबको असन्तुष्टि

मनाङ मर्स्याङ्दीकी समर्थकले गरेको व्यवहारप्रति ब्रिगेड ब्वाईज क्लबको असन्तुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । मंसिर २८ गतेबाट जारी सहिद स्मारक ए डिभिजन लिगमा बिहिबार एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा भइरहेका बेला मनाङ मर्स्याङ्दी क्लबकी एक समर्थकले ब्रिगेड ब्वाईजका खेलाडीलाई आपत्तिजनक शब्द प्रयोग गरेकाप्रति ब्रिगेड ब्वाईज क्लबले आपत्ति जनाएको छ ।

लिगको तेस्रो खेलमा मनाङले ब्रिगेडलाई १–० गोल अन्तरले पराजित गरेको थियो । खेलको ७४ मिनेटमा मनाङका एकराज बुढाथोकीले खराब ट्याकल गरेपछि ब्रिगेडका विजय गुरुङ मैदानमै ढलेका थिए । सोही समय मनाङकी एक समर्थकले विजय लडेपछि ‘विजय मरोस् मरोस’ भन्दै चिच्याएकी थिइन् । सो विषयलाई लिएर खेल मैदानमा केही समय तनाव सिर्जना भएको थियो । प्यारापिटमा ‘दीपा खड्का’ नामकी एक महिला समर्थकले विजय घाइते भएपछि अराजक व्यवहार देखाएकी थिइन् । त्यसपछि ब्रिगेडको प्लेयर बक्स केही समय तनावपूर्ण बनेको थियो ।

मनाङको समर्थकले आफ्नो खेलाडीमाथि आपत्तिजनक शब्द प्रयोग गरेपछि ब्रिगेडका खेलाडी र अफिसियलले आपत्ति जनाएका थिए । मैदान पनि एकछिन तनावग्रस्त बनेको थियो ।

मनाङका डिफेन्डर एकराजले लामो दूरीबाट हेडिङका लागि खुट्टा फैलाउँदा विजयको कानमा लागेर विजय बिहोस भई मैदानमा ढलेका थिए । केही समयपछि मात्र उनको होस खुलेको थियो । लगत्तै रेफ्री कबिन व्यञ्जनकारले एकराजलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । विजयलार्ई ६ टाँका लगाइएको छ ।

स्पिटलबाट डिस्चार्ज भएपछि समर्थकले देखाएको व्यवहारप्रति विजयले पनि आपत्ति जनाएका छन् । उनले आफूलाई मरोस् भन्ने समर्थकलाई कारवाही गर्न एन्फासँग अपिल गरेका छन् ।

ब्रिगेडविरुद्ध आपत्तिजनक शब्द बोल्ने मनाङ मर्स्याङ्दी क्लबकी दिपा खड्काले अन्य खेलमा समेत त्यस्ता हर्कत देखाउँदै आएकी छन् । उनी विपक्षी टिमविरुद्ध सिधा खुलेरै अपशब्द बोल्दै गाली गरिरहेको प्रत्येक खेलमा देख्न सकिन्छ । जसले बिहिबार ठूलै रूप लियो । घटनाको विषयमा मनाङ कार्यसमितिले उनलाई कारवाही गर्ने बताएको छ ।

ब्रिगेडका व्यवस्थापक अर्विन गुरुङ यस घटनाबाट मनाङले मात्र नभएर लिगका सबै क्लबका समर्थकले पाठ सिक्नुपर्ने बताउँछन् । ‘यो मनाङको लागि मात्रै हैन । सबै क्लबको समर्थकका लागि हो । यो फुटबलको लागि राम्रो काम हैन ।’ उनी भन्छन् ।

Logo