डिस्को काण्डमा परेका विमल घर्तिमगर, अञ्जन विष्ट र दिनेश राजवंशीलाई साग गेम्समा पनि नेपाली टिमबाट हटाइएको छ।
यु-२३ टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विमल, अञ्जन र दिनेशलाई टिमबाट हटाइएको जानकारी दिएका हुन्। उनीहरूको स्थानमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजेश परियार, प्रेजेन तामाङ र राजीव लोप्चनलाई टिममा स्थान दिएको छ।
कात्तिक ३० गते शनिबार नेपाली टिम कुवेतसँग विश्वकप छनोटको दोस्रो चरणको खेल खेल्न भुटान प्रस्थान गर्ने कार्यतालिका थियो। तर नेपाली टिमका मुख्य चार खेलाडी विमल, अञ्जन, दिनेश र सन्तोष तामाङले भने शुक्रबार राति नाइट क्लबमा गएर रक्सी खाएका थिए । उक्त कुरा थाहा पाएपछि एन्फाले उनीहरूलाई टिमबाट निकालेको थियो। उनीहरुको स्थानमा सुवास गुरुङलाई टिममा राखेर नेपाली टिम भूटान प्रस्थान गरेको थियो।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सागका लागि कात्तिक २५ गते टिम घोषणा गर्दा यी चार खेलाडीमध्ये फरवार्ड विमल, मिडफिल्डर अञ्जन र डिफेन्डर दिनेश परेका थिए। तर डिस्को काण्डकै कारण उनीहरू साग फुटबलबाट पनि बाहिरिए ।
टिमका मुख्य खेलाडी विमल, अञ्जन र दिनेश नहुँदा पनि उनीहरूको अभाव महसुस नहुने मुख्य प्रशिक्षक महर्जनले बताए। उनले भने, ‘अहिले हामीले टिमबाट मात्रै हटाएका हौं। अब उनीहरूलाई के कारबाही गर्ने भन्ने कुरा एन्फाले गर्ला। टिममा उनीहरूको अभाव खड्कने छैन। अरू खेलाडी पनि राम्रा छन्।’
नेपाल सागको डिफेन्डिङ च्याम्पियन पनि हो। सन् २०१६ मा भारतमा भएको १२औं साग फुटबलमा नेपालले भारतलाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेको थियो। त्यसबेला विमल, अञ्जन र दिनेश टिमका मुख्य खेलाडी थिए।
यो १३औं सागमा पनि नेपालले निरन्तर स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ । यसपालि भारतले सागमा पुरुष फुटबल नखेल्ने जनाइसकेको छ ।
नेपाली टिम यस्तो छ –
विकेश कुथु, अर्पण कार्की, दीप कार्की, अनन्त तामाङ, सुमन अर्याल, विकास खवास, मिचेन तामाङ, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, सुनिल बल, विक्रम लामा, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आम्दाङ्बे, तेज तामाङ, अभिषेक रिजाल, रेजिन सुब्बा, राजेश परियार, प्रेजेन तामाङ र राजिव लोप्चन।





























प्रतिक्रिया