काठमाडौं,
आगामी मंशिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली शुक्रबार काठमाडौंको स्वयम्भूबाट सुरु गरिको छ।
राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले टर्च प्रज्वलन गरी बिहान ८ बजे ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च र्याली आयोजना गरिएको हो। ओलम्पिक टर्च १३ जना ओलम्पियनले देशका प्रमुख सहरमा पुर्याइने भएको छ।
सागको ओलम्पिक टर्च र्यालीमा नेपालका चर्चित ओलम्पियन वैकुण्ठ मानन्धर, दीपक विष्ट, जितबहादुर केसी, राजेन्द्र भण्डारी, नयना शाक्य, उमेश मास्के, देवु थापा, ज्ञानबहादुर बोहरा, टीकाराम श्रेष्ठ, राजकुमारी पाण्डे, कान्छीमाया कोजू, मुकुन्दहरि श्रेष्ठ र सागका दोहोरो स्वर्णधारी दीपक श्रेष्ठलगाएत सहभागी भएका छन्।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सातै प्रदेशमा ओलम्पिक टर्च र्याली गरिने र यसले सागको प्रचारप्रसारमा सहयोग पुग्ने बताएका छन्। नौ दिनसम्म चल्ने र्याली सागको उद्घाटनको दिन मंसिर १५ गते दशरथ रंगशालामा आएर सकिनेछ।































प्रतिक्रिया