बंगलादेशमा बिहीबारबाट सुरु एसिसी इमर्जिङ टिम्स कपमा नेपालले भारतको यु-२३ टिमसँग प्रतिस्पर्धा गरिरहेको छ। ढाकास्थित बंगलादेश क्रिरा शिख्खा प्रोटिस्थान क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १९३ रन बनायो । ४४.५ ओभरमा अल आउट भएको नेपालका लागि ब्याट्सम्यानहरूले गतिलो योगदान दिन सकेनन् । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्यमै आउट भएका थिए ।
नेपालका लागि पवन शर्राफले सर्वाधिक ५६ रन बनाए । शरद भेषवाकरले ४४, डेब्यु गरेका कुशल भुर्तेलले २८, दिपेन्द्र सिंह ऐरीले २४ र करण केसीले २० रन बनाउनु बाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
टिममा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन्। दुवै जनाले युएईमा हुने टी-१० लिग खेल्नका लागि क्यानसँग अनुमति लिएका थिए।
मंसिर ७ गतेसम्म हुने टिम्स कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा आयोजक बंगलादेश, भारत र हङकङ छन्।
एकदिवसीय प्रतियोगितामा टेस्ट राष्ट्रका यु–२३ टिमले प्रतिस्पर्धा गर्नेछन् भने नेपाल लगायतका एसोसिएट देशको राष्ट्रिय टिमले भाग लिनेछन्।
नेपालको दोस्रो खेल हङकङसँग कात्तिक ३० गते र समूह चरणको अन्तिम खेल बंगालेशसँग मंसिर २ गते हुनेछ।































प्रतिक्रिया