१३ औं सागका सबै खेलमा नेपाल मात्रै

१३ औं सागका सबै खेलमा नेपाल मात्रै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपालमा मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश सबै खेलमा आयोजक नेपालले मात्र भाग लिने भएको छ। नेपालले सागमा समावेश २७ नै खेलमा भाग लिन लागेको छ।

साग गेम्सको पावर हाउस भारतले जम्मा १७ खेलमा मात्र भाग लिन लागेको छ। विश्व क्रिकेटमै अब्बल टोली भारतले क्रिकेट खेलमा पनि भाग नलिने भएको छ। भारतले सागमा समावेशमध्ये क्रिकेटसहित आर्चरी, गल्फ, कराँते, कबड्डी, प्याराग्लाइडिङ, टेबुलटेनिस, लनटेनिस, तेक्वान्दो र कुस्ती खेलबाट हात झिकेको छ।

नेपालले पदकको मुख्य आशा गरेको प्याराग्लाइडिङ खेल नहुने सम्भावना बढेको छ। सागमा सम्बन्धित खेल हुनका लागि त्यस खेलमा कम्तीमा चार राष्ट्रको सहभागिता निश्चित हुनु पर्दछ। प्याराग्लाइडिङमा अहिलेसम्म नेपाल मात्र एक्लो सहभागी देखिएको छ। प्याराग्लाइडिङसँगै ट्रायथलन खेल पनि नहुने सम्भावना बढेको छ।

ट्रायथलनमा अहिलेसम्म नेपाल, भारत र श्रीलंकाको मात्र सहभागिता निश्चित भएकाले नहुने सम्भावना बढेको हो। ट्रायथलनमा यदि बंगलादेशको सहभागिता रह्यो भने समावेश गर्ने सम्भावना छ।

सागमा समावेश खेलमा नेपालपछि बंगलादेश र श्रीलंकाले २५ खेलमा सहभागिता सुनिश्चित गरेको छ। पाकिस्तानले १८ र भुटानले १४ खेलमा सहभागिता सुनिश्चित गरेका छन्। माल्दिभ्सले सबैभन्दा कम ११ खेलमा सहभागिता जनाउन लागेको छ। माल्दिभ्सले एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, क्रिकेट, फुटबल, ह्यान्डबल, सुटिङ, पौडी, टेबुलटेनिस, लनटेनिस र भलिबलमा सहभागिता सुनिश्चित गरेको हो।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo