डिफेन्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरियो 

डिफेन्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरियो 

केन्द्रबिन्दु
0
Shares

 

काठमाडौँ – अघिल्ला दुई संस्करणको च्याम्पियन नेपाली युवा टिम साफ यू–१८ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । आज हल्चोकमा भुटान र माल्दिभ्सले गोलरहित खेल्दै सेमिफाइनल यात्रा तय गरेपछि नेपालले इतिहासकै खराब नतिजा बेहोरेको हो ।

६ देश सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्सविरुद्ध १–१ को बराबरी गरेको थियो । त्यसपछि भुटानविरुद्ध ३-० को लज्जास्पद हार बेहोर्‍यो । त्यसैले मंगलबार भुटान र माल्दिभ्सले बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपाललाई सेमिफाइनल पुग्नको लागि भुटानले माल्दिभ्सविरुद्ध कम्तीमा तीन गोलको अन्तरले जित हासिल गर्नुपर्ने थियो ।

सन् २०१५ मा सातदोबाटोमा भएको साफ यू–१९ प्रतियोगिताको फाइनलमा भारतलाई टाइब्रेकरमा हराएर नेपाली टिम च्याम्पियन भएको थियो । ‘राउन्ड रोबिन लिग’को आधारमा भुटानमा भएको दोस्रो संस्करण – २०१७ अंक बराबरी भए पनि गोल अन्तरमा बंगलादेशलाई पछाडि पार्दै नेपालले उपाधि रक्षा गरेको थियो ।

अहिले नेपालमा भइरहेको तेस्रो संस्करणमा भुटान ४ अंकसहित समूह ‘ए’मा विजेता र माल्दिभ्स २ अंकका साथ उपविजेता भए । अर्को समूहमा भारत र श्रीलंकावीच बुधबार हुने खेलले सेमिफाइनल समीकरण तय गर्नेछ । पहिलो खेलमा श्रीलंकालाई पराजित गरेकोे बंगलादेशले भारतसँग बराबरी खेल्दै अन्तिम चारको यात्रा निश्चित गरिसकेको छ ।

Logo