काठमाडौं ।
नेपाल भलिबल संघले क्लबलाई ब्यवस्थित र कानुनी दायरामा ल्याउन पहल सुरु गरेको छ । उपत्यकासहित देशभरका भलिबल क्लबहरु अब्यवस्थित र अवैधानिक रुपमा सञ्चालनमा आएको उल्लेख गर्दै संघले क्लबलाई समेत व्यवस्थित र कानुनी दायरामा ल्याउन गृहकार्य अघि बढाएको हो ।
संघले प्रारम्भिकरुपमा काठमाडौं उपत्यकाभरी विभिन्न स्थानमा दर्ता नगरि सञ्चालनमा रहेका क्लब र ट्रेनिङ्ग सेन्टरको अध्ययन र अवलोकन गर्न उपाध्यक्ष निरोज मास्केको संयोजकत्वमा कमिटी गठन गरेको छ । संघले उपत्यकामा रहेका क्लब तथा ट्रेनिङ सेन्टरको अवलोकन र निरीक्षण गरि प्रचलित कानुन र नियम अनुसार क्लबलाई सञ्चालन गराउन समन्वयको काम गर्न कमिटीलाई अख्तियारी दिएको छ ।
कमिटीमा मास्केसहित उपाध्यक्ष ऐनबहादुर शाही, मानवीर छन्त्याल, श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठ सदस्य रहेका छन् । कमिटीले प्रारम्भिक रुपमा उपत्यकाका तीन जिल्लामा अवैधानिक रुपमा सञ्चालनमा रहेका भलिबल क्लबलाई ब्यवस्थित गर्न पहल सुरु गर्नेछ ।
कमिटी संयोजक रहेकी निरोज मास्केले छरिएर रहेका क्लबलाई संघको छाताभित्र जोड्ने उद्धेश्यले गृहकार्य अघि बढ्ने बताइन् । उनी भन्छिन्, ‘सबै पक्षसँग छलफल गरेर भलिबलका क्लबलाई थप ब्यवस्थित र चलायमान बनाउन खोजेका हौं । जिल्लास्तरमा रहेका क्लबलाई संघको छातामा जोड्ने पहलको रुपमा यसलाई बुझ्न जरुरी छ ।’
राष्ट्रिय खेलको मान्यता प्राप्त गरेपनि भलिबल संघ आफैं ब्यवस्थित र पारदर्शी छैन । जिल्ला र क्लबहरुको अवस्था अझ विजोग छ । ७५ वटै जिल्लामा रहेका जिल्ला संघ प्राय निष्कृय छन् । क्लब अवैधानिक रुपमा सञ्चालन भईरहेका छन् ।
पछिल्लो समय अनाधिकृत रुपमा भलिबल क्लब गठन गरेर अवैधानिक रुपमा पैसा उठाउने काम भएको सुचना प्राप्त भएपछि संघ गम्भिर बनेको हो । काठमाडौं उपत्यकासहित मोफसलका स्थापना भएको धेरै क्लबहरु जिल्ला, केन्द्रसहित कुनै निकायमा समेत दर्ता छैनन् ।
संघले प्रारम्भिकरुपमा काठमाडौं उपत्यकामा रहेका क्लबलाई ब्यवस्थित गर्ने गृहकार्य अघि बढाएको हो । संघकी उपाध्यक्ष समेत रहेकी मास्केले अनाधिकृत रुपमा स्थापना र सञ्चालनमा आएका क्लबलाई कानुनी दायरामा ल्याउन कमिटीले सहजीकरण गर्ने उल्लेख गरिन् ।
‘क्लब भलिबल बिना मुलधारको भलिबल बलियो बन्न सम्भव छैन । भलिबलको आधार भनेकै क्लब हो । त्यसैले क्लबलाई संघसंग जोड्न, चलायनमान बनाउन र कानुनी आधार दिएर सहयोग जुटाउन कमिटिले पहल गर्नेछ ।’ मास्केले भनिन् ।





























प्रतिक्रिया